गीतिरचना फॉटमा एक उत्कृष्ठ शब्दकारको आगमन

नेपाली गीति रचना फॉटमा एक उत्कृष्ठ शब्दकारको आगमन भएको छ । स्वार्थी,भाग्यचक्र,बिटुली,अपवित्र छायॉ , त्यागी,वज्राघातजस्ता उपन्यास लेखेर बिगत १ दशकदेखि नेपाली उपन्यासकारितामा संक्रिय उपन्यासकार डा.डी.आर.उपाध्याय अब गीतकारको परिचय बोकेर सांगीतिक यात्रामा निक्लेका छन् ।
आधा दर्जन उपन्यास लेखेर लेखनमा पाइन लगाईसकेका उपाध्याय पहिलो गीति संग्रह ‘प्रणय’का गीतहरु सुन्दा नै उनको लेखनलाई अनुभूत गर्न सकिन्छ। सरल , गम्भिर र जीवनोपयोगी लेखन देखिन्छ उनको। गायनमा स्वरुपराज आचार्य ,सत्यराज आचार्य,प्रमोद खरेल, रामचन्द्र काफ्ले, मेलिना राई,मिलन अमात्यको बेजोड प्रस्तुति देखिन्छ ।


लय तथा संगीत सिर्जनामा सागर अधिकारी ‘शरद’ले कुनै कसर छाडेको देखिदैन । मिठो छ उनको संगीत । एउटा गीत  सागर अधिकारी ‘ शरद’ आफैले गाएका पनि छन् । गायनमा पनि उनी अन्य सुरकर्मीहरुभन्दा कमजोर देखिएनन  बरु सबल नै देखिए । यतिको सुर र ताल भएपछि यो एल्बमका सबै पुरुष स्वरमा उनी आफै अझ राम्रो सुहाउथे । तर उनले अरु गायकको व्यवसायिक पनलाई सलाम गरिदिए । यो उनको महानता हो ।

उपन्यासकार गीतकार डा.डी.आर.उपाध्याय

संगीतकार/गायक सागर अधिकारी ‘शरद’

एउटा भव्य समारोह बिच एल्बम ‘ प्रणय’ र उपन्यास ‘अतिरिक्त’ को बिमोचन सम्पन्न भएको थियो । समारोहमा अतिथिको रुपमा गायक प्रेमध्वज प्रधान , संगीतकार दीपक जंगम, बुलु मुकारुंग,चन्डी प्रसाद काफ्ले, गीतकार दिनेश अधिकारी, लगायतका गन्यमान्य व्यक्तित्वहरुको उपस्थिती थियो ।सुचना तथा संचार मन्त्री गोकुल बासकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गीतकार उपाध्यायको व्यक्तित्व र कृतित्वमाथी वक्ताहरुले बिभिन्न कोणबाट प्रकाश पारेका थिए ।