टोनी क्रुसको फ्रि किक गोलले जोगियो जर्मनी

स्विडेनविरुद्धको खेलमा टोनी क्रुसले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनी जोगिएको छ । जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको जर्मनीले पहिले गोल खाएर पनि अन्तिममा आप्नो पक्षमा नतिजा पार्न सफल भएको हो । खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको अवस्थामा अतिरिक्त समयको पाँचौ मिनेटमा पाएको फ्रिकिकलाई टोनी क्रुसले सीधै स्विडेनको जाली चुमाएका थिए ।

जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे । स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा साविक विजेता जर्मनीले दुई गोल गर्दै आफ्नो विश्वकप अभियान जीवित राखेको हो । जर्मनीका लागि ४८ औं मिनेटमा मार्को रोयसले बराबरी गोल गरे भने इन्जुरी समयमा क्रुसले गोल गर्दै जर्मनीलाई ३ अंक दिलाए । हारेको अथवा बराबर भएको अवस्थामा जर्मनीलाई अन्तिम १६ पुग्न निकै कठिन हुने थियो । २ खेलबाट अहिले जर्मनीको ३ अंक रहेको छ भने स्वीडेनको पनि ३ अंक नै रहेको छ । मेक्सिकोको ६ अंक रहेको छ भने दक्षिण कोरिया अंक विहीन रहेको छ ।