पानामामाथि गोल वर्षा

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह जी को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले पनामाविरुद्ध गोलवर्षा नै गरेको छ।  पहिलो हाफमा ५-० गोल अन्तगर बनाएको इङ्ल्यान्डले ९० मिनेट खेल्दा पनामामाथि ६-१ को जित दर्ता गरेको हो। इङ्ल्यान्डका लागि ह्‍यारी केनले ह्‍याट्रिक गरे भने जोन स्टोनले दुई गोल गरे।

सुरुवाती अग्रता दिलाउने क्रममा खेलको आठौँ मिनेटमा जोन स्टोनले हेडमार्फत् गोल गरेका थिए। किएरन ट्रिपिएरले दिएको हाई बललाई स्टोनले हेडमार्फत सीधै जालीको दिशा देखाएका थिए । २२ औं मिनेटमा क्यानले पेनाल्टी गोल गरे भने ३६ औँ मिनेटमा जेजे लिङ्गाडले उत्कृष्ट गोल गरे। ४० औं मिनेटमा जोन स्टोनले अर्को गोल थपे। पहिलो हाफको थपिएको एक मिनेटमै केनले अर्को गोल गरे। केनको व्यक्तिगत दोस्रो गोलसँगै पहिलो हाफमा इङ्ल्यान्डले ५-०को अग्रता लिएको थियो।

दोस्रो हाफको ६२ औं मिनेटमा गोल गर्दै केनले ह्‍याट्रिक पूरा गरे। उनले ह्‍याट्रिक पूरा गर्दा इङ्ल्यान्डले ६-० बनाएको थियो। यद्यपी खेलको ७८ औं मिनेटमा पानामाका रिकार्डो गार्डियाले सान्तवना गोल फर्काए।