जापान र सेनेगलको २-२ बराबरी

एसियाली टोली जापानले र अफ्रिकी टोली सेनेगलले रुस विश्वकपको आफ्नो दोस्रो खेलमा एकएक अंक बाँडेका छन्। समूह ‘एच’अन्तर्गत आइतबार राति भएको खेलमा जापान र सेनेगलसँग २-२ गोलको बराबरी खेले। समूहगत चरणको पहिलो खेलमा कोलम्बियालाई सेनेगलले र पोल्यान्डलाई जापानले पराजित गरेका थिए। बराबरीसँगै दुवै टोलीले चारचार अंक जोडेका छन्।

खेल सुरु भएदेखि नै दुवै टोलीले आक्रामक खेलेका थिए। दुवै टोलीले आक्रामकता देखाउँदा बाजी भने सेनेगलले मारेको थियो। खेलको ११ औं मिनेटमा जापानका डिफेन्डर हिरोकी साकाइले राम्रोसँग बल क्लियर गर्न नसक्दा युसुफ सबालीको पासमा सर्डियो मानेले गोल गर्दै टोलीलाई १२ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि आक्रमक देखिएको जापानले ३४ औं मिनेटमा बराबरी गोल फर्कायो। युतो नागातोमोले दिएको पासमा ताकासी इनुईले उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलको दोस्रो हाफमा पनि दुवै टोलीले एकएक गोल गरे। दोस्रो हाफमा पनि सुरुवाती गोल भने सेनेगलले नै गर्‍यो। एमबाये नियाङले उपलब्ध गराएको पासमा मौसा वागले गोल गर्दै सेनेगललाई २-१ को अवस्थामा पुर्‍याए। एक गोलले पछि परेको जापानले सात मिनेटपछि नै बराबरी गोल फर्काउन सफल भयो। मैदान छिरेको ६ मिनेपछि नै केइसुके होन्डाले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए। डीबक्स एरियामा सेनेगलका डिफेन्डर अल्मलिएको अवस्थामा होन्डाले गोल गरेका थिए।

पुरानै खेलाडीको भरमा रुस यात्रा गरेको जापानले पहिलोपटक सन् १९९८ को विश्वकप खेलेको थियो। त्यसयता जापानले नियमित विश्वकप खेल्दै आएको छ।  यसैगरी रुस विश्वकप अफ्रिकी टोली सेनेगलको दोस्रो सहभागिता हो। यसअघि सन् २००२ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा नै पहिलो खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेर सनसनी मच्चाएको सेनेगल त्यसबेला क्वार्टरफाइनलसम्म पुगेको थियो।