कोरियाले आफू मात्र बाहिरिएन, जर्मनीलाई पनि सँगै घर फर्कायो

दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० हराएको हो । दुबै गोल इन्जुरी टाइममा भएको थियो । सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो । झन दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गरेका हुन् ।

पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २-१ ले हराएको थियो । समूह चरणको अन्तिम खेल खेल्दै गर्दा दक्षिण कोरिया बाहेक तीनै टिमको सम्भावना थियो । तर, जर्मनीका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्न दक्षिण कोरियालाई हराउनै पर्ने थियो । यदि जर्मनीले कोरियालाई हराएको र स्वीडेनले मेक्सिकोलाई ३-० ले जितेको भए गोल अन्तरका आधारमा जर्मनी अघिल्लो चरण पुग्थ्यो भने मेक्सिको बाहिरिने थियो । तर, कोरियाले आफू मात्र बाहिरिएन, साविकको विजेतालाई पनि सँगै घर फर्काएको छ ।