८२ वर्षपछि बेल्जियमसँग इङ्ल्यान्ड पराजित

विश्व कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्यान्डलार्इ ८२ वर्षपछि पराजित गरेको छ । अदनान जानुजार्इ निर्णायक गोल गरेपछि समूह जी बाट सबै तीन खेल जितेको बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम १६ मा बेल्जियमले समूह एच को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्ने छ ।

बेल्जियमका अदनान जानुजाइले ५१ औँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । बेल्जियमसँग पराजित भएपछि इङ्ल्यान्ड समूहका २ खेलमा जित र एक हारसहित उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । अब उसले क्वार्टर फाइनलका लागि समूह एचको विजेता कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छ । बेल्जियमका प्रमुख स्ट्राइकर रोमेलु लुकाकु चोटका कारण इङ्ल्यान्डविरूद्ध मैदानमा उत्रिएनन् । उनले पनि यो विश्वकपमा पनामा र ट्युनिसयाविरूद्ध चार गोल गर्दै गोल्डेन बुटको दाबेदारीमा उभ्याएका छन् ।