जापान फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश

बिहीबार साँझ भएको खेलमा पोल्यान्डसँग १–० ले पराजित भए पनि जापान फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो। जापान र सेनेगलको अंक र गोल भिन्नता बराबरी भए पनि जापानले फेयर प्लेका आधारमा अन्तिम १६ मा स्थान बनाएको हो। समूहगत चरणको तीन खेलमा जापानले चार तथा सेनेगलले ६ पहेलो कार्ड पाएका थिए।दोस्रो चरणमा पुग्न बराबरी गरे मात्र पनि प्रयाप्त रहने भएकाले जापान बराबरी गर्ने मनसायले मैदान उत्रिएको थियो।

जापानले रक्षात्मक खेल खेल खेल्दै पहिलो हाफ बराबरीमा सकिएको थियो। यसको विपरीत पोल्यान्ड भने जितकै लागि मैदान उत्रिएको थियो। पोल्यान्डले पहिलो हाफमा बलमा नियन्त्रण राखे पनि गोल भने गर्न सकेन।दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल खेले। दुवै पोस्टमा लगातार आक्रमण हुँदा बाजी भने पोल्यान्डले मार्‍यो। पोल्यान्डले खेलको ५९औं मिनेटमा सुरुवाती अग्रता बनायो। पोल्यान्डले पाएको फ्रिकिकमा राफेल कुर्जावाले उपलब्ध गराएको बललाई भलीमार्फत जान बेड्नारेकले गोल गरेका थिए।