‘नाईं नभन्नू ल ५’ को पहिलो गीत सार्वजनिक

विकाश आचार्यको निर्देशन रहेको चलचित्र ‘नाईं नभन्नू ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।  ‘तिम्रो आँखामा आँखा जुधाई…’ बोलको सार्वजनिक रोमान्टिक गीतमा मेलिना राईले स्वर रहेको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा वसन्त सापकोटाको संगीत छ । ईलामका रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपालको अभिनय देख्न सकिन्छ ।

‘नाई नभन्नू ल’ सिरिजको मुख्य विशेषता भनेकै यसको संगीत पक्ष हो । यस अघिका चार वटै सिरिजमा समाबेश गीतले दर्शकको मन छुन सफल भएका छन् । गीतमा मेलिनाको स्वरले   मिठास भरेको छ । शब्द र संगीत पनि उत्कृष्ट छ । नाई नभन्नु ल’ सिरिजको चलचित्रले दर्शकलाई जति रुवाएपनि यसका गीतसंगीत भने निकै मन छुने हुन्छन् । गीतसंगीतकै कारण यो चलचित्रको व्यापारमा निकै फरक पनि परेको छ ।यसैले पनि ‘नाई नभन्नु ल ५’को शिर्ष गीतको पखाई दर्शकमा थियो ।  आफ्नो करिअरमा नायिका स्वस्तिमा खड्काले अर्को एउटा मन छुने गीत पाएकी छिन् ।

कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायाँकन रहेको  भिडियोमा स्वस्तिमाले आफ्नो प्रेमी अभिषेकलाई फकाएको देख्न सकिछ । चलचित्रको यो गीतको भिडियो औषत छ । गीत अनुसार भिडियोको मेकिङ कमजोर लाग्छ । गीत मात्र हेरेर नव-नायक नेपालको कामको मुल्यांकन गर्न गाह्रो छ ।

आउँदो भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको विकासराज आचार्य निर्देशित चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट दुई नयाँ कलाकारले डेब्यु गरेका छन् । नव-नायक अभिषेक नेपाल र बाल कलाकारमा सेड्रिना शर्माले यस फिल्मबाट लिड रोलमा ब्रेक पाएका छन् । हुनत, यस चलचित्रका हरेक सिरिजबाट निर्देशक आचार्यले नयाँ कलाकारलाई लञ्च गर्दै आइरहेका छन् । ‘नाईं नभन्नू ल ५’ मा नव-नायक अभिषेक नेपालको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ भने फेरि एकपटक अनुभवले पर्दामा नयाँ जोडी पाएका छन् ।सेड्रिना शर्मासँग उनले अनस्क्रिन रोमान्स गरेका छन् । चलचित्रको ट्रेलरमा अभिषेकको भूमिका सस्पेन्सको छ । सेड्रिना भने चुलबुले बालिकाको रुपमा प्रस्तुत छिन् ।

निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, अनुभव रेग्मी ,जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेको चलचित्र फेमली ड्रामा भएको निर्माण युनिटको भनाई रहेको छ ।  वान टाइम सिनेमाको ब्यानरमा बनेको चलचित्रको हरिबोल भण्डारी र गौरी जोशी निर्माता हुन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल रहेका छन् ।