पूजा र आकाशको ‘रामकहानी’ भाद्र २२ गतेबाट

भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रामकहानी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । ट्रेलर रोमान्टिक प्रेम कथाले भरिएको छ । प्रेम, मिलन, विछोड, रोदन, कमेडी, थ्रिल सबै खुराक ट्रेलरमा छ । ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा पनि प्रमुख भूमिकामा छन् । ट्रेलर हेर्दा अभिनेत्री पूजा शर्मा पहिलो पटक फरक भूमिकामा प्रस्तुत भएको अनुमान गर्न सकिन्छ । उनको रोमान्टिकसँगै डरलाग्दो अवतार देखिएको छ ।

सुदर्शन थापा भन्ने वित्तिकै लभ स्टोरी चलचित्र निर्देशनमा जमेका निर्देशक भनेर चिनिन्छ । उनले, बनाएका चलचित्रमा प्रेमको कथालाई प्राथमिकताका साथ राखिएको हुन्छ । झन्, नायिका पूजा शर्मा भएपछि दर्शकले लभ स्टोरी कथाकै अपेक्षा गर्नु स्वभाविक नै हो । चलचित्र ‘रामकहानी’को ट्रेलरले भने सबैलाई सरप्राइज नै बनाएको छ । कारण, यो चलचित्रमा लभ स्टोरी मात्र समावेश छैन । यसपटक दर्शक सरप्राइजमा पर्नुको मुख्यकारण हो, नायिका पूजा शर्माको भूमिका । सुदर्शनले पूजालाई यसपटक ‘भूत’को अवतारमा प्रस्तुत गरेका छन् । राम र मायाको कथा, ४ हाँस्य कलाकारको कमेडी र भूतको कथाले ट्रेलरलाई आकर्षक बनाएको छ ।  चलचित्रको कथा सुदर्शन आफैंले लेखेका हुन् । सौरभ लामाले खिचेको चलचित्रमा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।