रोजी’को रोमान्टिक गीत सार्वजनिक

भदौ २२ मा रिलिज हुने ‘रोजी’को पहिलो गीत सोमबार सार्वजनिक गरिएको छ । फिल्मको ‘फूल हैन ’ बोलको गीत रिलिज गरिएको हो । गीतमा प्रदीप खड्का र मिरुना मगरलाई टर्कीका पर्यटकीय स्थल इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको छ ।  एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीको युगल स्वर रहेको छ । राजेशकुमार श्रेष्ठको शब्दमा कविराज गहतराजको नृत्य निर्देशन छ । रोमान्टिक र लभस्टोरी मुडअनुसारको लोकेसनले गीतलाई अझै दर्शनीय तुल्याएको छ । फिल्मका निर्देशक नीरक पौडेल हुन् ।

फिल्मले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । प्रदीप, मिरुना र परमिता राणा मुख्य भूमिकामा छन् । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत छ ।