नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन

 

प्रतिनिधि सभा सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले बानेश्वरको शान्तिनगरमा अवस्थित नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उद्घाटन गरेका छन् । शनिबार एक कार्यक्रमको बीच फाउण्डेशनको रिवन काटेर पूर्व मन्त्री समेत रहेका बस्नेतले उद्घाटन गरेका हुन् ।

कलाकारिता र रेस्लिङ्ग खेललाई एकसाथ अघि बढाएकी भगवती खड्का ‘यूनिका’ ले यो फाउण्डेसन सञ्चालनमा ल्याएकी हुन् । उनी अध्यक्ष रहेको यस फाउण्डेशनले आगामी दिनमा रेस्लिङ्ग प्रति रुचि भएका हरेक नारीलाई खेलको व्यवस्था गरेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य बस्नेतले खेल क्षेत्रमा सम्भावना र चुनौती दुवै रहेको बताए । उनले खेल क्षेत्रले समेत राष्ट्र चिनाउने काम गरेको भन्दै यो फाउण्डेसनले राम्रो खेलाडी उत्पादन गर्न सफल रहोस् भनि शुभकामना दिए ।

उद्घाटन सँगै ९ खेलाडीबीचको रेस्लिङ्ग खेल देखाइएको थियो । भगवती खड्का, ड्रागन मुना र शोभा सुखरियाबीचको त्रिपक्षीय खेल निकै रोमाञ्चक रह्यो । ड्रागन मुनाले शोभा र यूनिकालाई हराएर जित हासिल गरिन् । यता उत्तम विष्ट र मनोज पार्करको बीच भएको रेस्लिङ्गमा भने उत्तम विजयी बने । अस्मिता जुरेली र अस्मिता राईको भिडन्त पनि निकै चुनौतीपूर्ण र रोचक रह्यो । यी दुईबीचको खेलमा भने अस्मिता जुरेलीले अस्मिता राईलाई हराइन् । यता अन्तिम खेल अन्तर्गत बबी पीटर कुमाल र सन्जित खम्बाबीको प्रतिस्पर्धालाई पनि कम आंकलन गर्न मिल्दैन । सन्जितलाई हराउदै बबीले खेलमा जित हासिल गरे । यि सबै खेलमा रेफ्रीको भूमिका गुणराज रुचालले निभाएका थिए । फाउण्डेसनलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याउनेहरुलाई सम्मानपत्र र मायाको चिनोबाट सम्मानित गरिएको थियो ।