तिज गीत ‘बजाएर चुरा’ सार्वजनिक

विक्रमको ५०को दशकमा निक्कै चर्चामा रहेकी नेपाली चलचित्रकी चर्चित कलाकार वर्षा खड्काद्वारा अभिनित तिज गीत ‘ बजाएर चुरा ‘ सार्वजनिक भएको छ । यशु थापाले रचना गरेको यो गीतमा राज सागरको संगीत र अन्जु श्रेष्ठ र दीपा लामाको स्वर छ ।

टिपीकल शब्दमा निक्कै मेहनत गरेर बनाईएको यो गीतको सुन्दरता भनेकै यसको भावना र सन्देश हो। सकारात्मक सन्देश यो गीतले बोकेको छ ।  गीतकार थापाको यस अघि आधुनिक गीत र गजल संग्रहित एल्वम गीतञ्जली बजारमा आईसकेको छ भने उनका गीत पछिल्लो समय बिभिन्न गायक गायिकाको आवाजमा रेकर्ड भै रहेको छ ।

सुरिलो गायन मिठो लय र गहकिलो सन्देशले गीतलाई गहन बनाएको छ । नाचौ नाचौ लाग्ने यो गीतमा वर्षा खड्का , यशु थापा , अन्जु श्रेष्ठ लगायत २५ जानाभन्दा बढि कलाकारले कम्बर मर्काएका छन् । लामो समयको अन्तरालमा नृत्य मार्फत अभिनयमा देखिएकी वर्षाको अहिले पनि उस्तै भाब र प्रतिभा यो गीतमा देखिन्छ । उनको काम तारिफ योग्य छ । दाजुभाई , आमाको माया,आन्दोलन,खेलौनाजस्ता चलचित्र पश्चात वर्षाले यो गीतमा अभिनय गरेकी हुन्।

लुज सिंहको छायांकन र प्रदिप श्रेष्ठको निर्देशन रहेको यो गीतमा विष्णुहरि तिमलशिनाको सम्पादन छ । सबैको प्रयासमा भिडियो राम्रो बनेको छ । एक समारोह बिच यो गीतको भिडियो आज सार्वजनिक गरिएको छ । समारोहमा नायिका झरना थापाको साथमा मिडियाकर्मी र कलाकारहरुको राम्रै उपस्थिति थियो । पारिवारिक झमघटमाझ सम्पन्न कार्यक्रममा उपस्थित सबै रमाएका थिए ।