गायक प्रमोद पनि भक्ति गायनमा

उत्कृष्ठ र लोकप्रिय गायक प्रमोद खरेल पनि भक्तिगायनमा पहिलोपटक देखापरेका छन् । नेपाली आधुनिक गायनमा निक्कै राम्रो सफलता पाईसकेका प्रमोदले भक्तिगायनमा पनि राम्रो सुरुवात गरेका छन् । प्रमोदलाई भजन गायनमा डोराउने काम भने दुई प्रवासी सर्जकले गरेका छन् । क्यानडामा रहेर नेपाली गीतिकारिता र साहित्यमा रमाउदै आएका नीरभिमको भक्ति रचना र जपानमा बसेर संगीतक्रम गर्दै आएका दिपक भट्टराईको संगीतमा तयार भएको यो भक्ति एव्बममा प्रमोदको एकल गायन रहेको छ।


जीवनमा पहिलो पटक भजन एल्बम निकाल्न पाएकोमा मख्ख परेका प्रमोदले पनि मिठो गायकीबाट एल्बममा प्रशंसा योग्य काम गरेका छन् ।
‘ज्ञानसुधा’ नामबाट श्रोतासमक्ष आएको यो एल्बममा पॉचवटा भजन संग्रहित छन् । फरक फरक बिचार र कोणबाट लेखिएका शब्दले एल्बमलाई राम्रो बनाएको छ । प्रभु तिम्रो, सत्त चित्त,हरिको द्वारसम्म,सुसुप्ति ब्रम्हा र पाथीभरा माता बोलका भजन संग्रहमा छन् । किरण कडेल, फणिन्द्र राई,गोपाल रसाईली,उदयराज पौडेल र आमोस तामांगको संगीत संयोजन रहेको  संग्रह सबै कोणबाट राम्रो बनेकाले सुन्नै पर्ने खालको छ ।


‘ज्ञान सुधा’ आज एक समारोह बिच बरिष्ठ गीतकारद्वय किरण खरेल र रत्न शमशेर थापाको हातबाट बिमोचन गरिएको थियो । समारोहमा विभिन्न सागीतिक संघ सस्थाका प्रतिनिधीको साथमा लोकप्रिय गायक रामकृष्ण ढकाल र संगीतकार राजु सिंहको पनि उपस्थिती रहेको थियो । समारोहमा संग्रहको निकै राम्रो तारिफ सुनिएको थियो ।संगीतको मुलधारका लोकप्रिय गायकले पनि भजनमा रुचि लिएको कुराको निक्कै तारिफ गरिएको थियो । गायक प्रमोद पनि आफ्नो गायन यात्राको क्रममा यसरी भजनमा काम गर्न पाउदा निक्कै खुशी देखिन्थे । सम्रगमा संग्रह पनि निक्कै राम्रो बनेको देखिन्छ ।