चलचित्र ‘मारुनी’को घोषणा: साम्राज्ञीलाई बाहिर निस्कन धौ–धौ

पुनम इन्टरटेनमेन्टको व्यानरमा ‘मारुनी’ नामक चलचित्र बन्ने भएको छ । नवल नेपालले निर्देशन गर्ने यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी राणा र रेविका गुरुंगको मुख्य भुमिका रहेको छ। काठमाडौमा आज आयोजित एउटा भव्य समारोहमा पृथक तरिकाले कलाकारहरुको परिचयात्मक कार्यक्रम गरेर चलचित्रको घोषणा गरिएको थियो ।


नबल नेपाल र गोविन्द फुयालको लेखनमा बन्न लागेको यो चलचित्रमा राजा प्रधान र अजय पोखरेलले पनि लगानी गर्ने बताईएको छ । निर्मात्री पुनम क्षत्री गौतमले कथा राम्रो भएकाले आफु यो चलचित्रबाट आशाबादी रहेको बताएकी थिईन ।

चलचित्र ‘मारुनी’को घोषणा कार्यक्रममा एकसाथ पुगेका नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका प्रेमी देवांश जंगबहादुर राणाको लुकामारी गज्जबकै देखियो ।  कार्यक्रममा साम्राज्ञी र उनका प्रेमी राणा एकसाथ पुगेका थिए । उनीहरु हलको पछाडिको भागबाट प्रवेश गरेका थिए । कार्यक्रममा प्रवेश गरेसँगै साम्राज्ञी पहिरन परिवर्तन गर्नमा व्यस्त बनिन् भने देवांश कार्यक्रम हलमा आएर बसेका थिए । कार्यक्रम सुरु भएपछि देवांश साम्राज्ञीले स्टेजमा ¥याम्प शो गर्दै गर्दा उनको भिडियो लिनमा व्यस्त देखिए ।

कार्यक्रम सकिएपछि उनी डिनर हलतिर भौतारिएका थिए भने कहिले साम्राज्ञी भएको कोठामा पुग्थे । केही छिनमा यी दुई एकसाथ भएपनि मिडियाको क्यामेरामा पोज दिन भने मानेनन् । साम्राज्ञीलाई मिडियाले आग्रह गरेपनि उनीहरुले एकसाथ पोज दिएनन् । दुइले एकसाथ कुराकानी गर्न पनि मानेनन् । कार्यक्रम सकिएपछि साम्राज्ञी र उनका प्रेमीलाई हलबाट निस्कन बहुतै गाह्रो पर्यो ।

यी दुइलाई कुरेर बसेका फोटोग्राफरहरुले पछ्याएपछि दुइलाई बाहिर निस्कन धौ धौ परेको हो । यही विचमा साम्राज्ञीका प्रेमी राणा गाडीमा गएर बसेका थिए भने साम्राज्ञीलाई उनका एक नजिकका दाइले स्कुटीमा राखेर हलको गेटसम्म पुर्याएका थिए । तर, फोटोग्राफरहरुले उनलाई छाडेनन् । गेटमा स्कुटीसम्म पुगेकी साम्राज्ञी सुटुक्क प्रेमीको गाडी चढेर हल परिसरबाट बाहिरिएकी थिइन् । साम्राज्ञी र देवांशु बाहिरिएतापनि साम्राज्ञीकी आमा नेहा भने लामो समय कार्यक्रममा बसेकी थिइन् ।