ठूलो तामझाम सहित आइडल प्रतियोगिताको सुरुवात भएको एक दशक नघिसकेको छ । तर कुनै पनि आइडल कसैको आइडल व्यक्तित्व बनेको उदाहरण छैन । उनीहरु केवल आयोजक र प्रायोजकका कमाई र प्रचारका वस्तुमात्र बने । स्वर र प्रतिभाको कमी थिएन उनीहरुमा । तैपनि प्रतिस्पर्धात्मक सांगीतिक बजारमा टिक्न सकेको देखिएन । आयोजक प्रायोजकले उनीहरुलाई एक वर्ष जसोतसो टिकाए पनि त्यसपछि केही गर्ने अवस्था रहेन । कलिलो उमेर, कमजोर आर्थिक धरातल, सुझबुझको कमी, अवसरको कमी जस्ता कारणले उनीहरु हराउँदै गएको देखियो ।
निकै लामो समयको अन्तराल पनि यसपटक अन्नपूर्ण टिभी यस्तै कार्यक्रम गर्न अग्रसर भयो । भव्य र सभ्य ढंगबाट कार्यक्रम सम्पन्न पनि भयो । टेलिभिजनको टिआरपी प्रशस्त बढायो । आर्थिक पाटो पनि सबल नै देखियो । जनताले पनि एउटा स्तरिय कार्यक्रम हेर्न पाए । राम्रो सांगीतिक प्लेटफर्म पाएको महसुस गरे संगीत अनुरागीहरुले । आकर्षक पुरस्कार र तामझाम हेर्दा कोही एउटाको भविष्य रामै्र बन्ने संकेत देखियो । तर यसको भित्री पाटो पट्टी कसैले हेरेनन् । केही कुरा बाहिर पनि आएनन् । प्रतियोगिताबाट बाहिर पर्दै गएका केही प्रतिभाहरु बजारमा सलबलाउन थाले तब धेरै संगीतप्रेमीको मन झस्कियो ।
टेलिभिजनमा अरुको गीत गाएर आप्m्नो स्वर दिएका नवप्रतिभा हरुलाई आफ्ना गीत गवाउन र आफ्ना कार्यक्रममा लैजान खोज्दा धेरै संगीत अनुरागी कृण्ठित भएका छन् । १६, १७ वर्षकै उमेरमा हाई डिमाण्ड, चुरीफुरी, घमण्ड, आफूलाई अलग्गै ठान्ने प्रवत्ति जब प्रतिभाहरुमा देखापर्छ । तब उनीहरुको भविष्य अन्धकार हुन्छ । प्रतिभाहरुले शुभचिन्तक, प्रशंसकहरु कमाउदै जानुपर्छ गुमाउनु हुँदैन ।
नेपाल आइडलका उत्कृष्ट १० भित्रका प्रतिस्पर्धीहरुले आफू प्रतियोगिताबाट बाहिर भइसकेपछि गीतकार, संगीतकार, संगीतका लगानीकर्ताहरु, कार्यक्रम आयोजकहरसँग जुन ढंगको मोलतोल गरेको देखियो त्यो पटक्कै ठिक भएन । न आफ्नो मौलिक गीत छ न कुनै गीत हिट ? यस्तो अवस्थामा समेत आफूलाई विशेष ठानेर कुरा गर्ने प्रतिभाहरु के पछि सम्म टिक्न सक्छन् ? यस्तो बेलामा त पाएको अवसरलाई आत्मसाथ गर्दै स्वीकार गरेर अघि बढ्नु पर्नेमा उल्टै दम्ब देखाउने पारा अलि सुहाएन आइडल प्रतिस्पर्धीहरुलाई ।
कतिपय आइडलहरुलाई जातिय वर्ग र संस्थाहरुले अहिलै देवत्वकरण गरेर उचालेको पनि देखियो । के सधै भरि यसरी ने
चल्छ ? कति दिन बोक्छन्, यस्ता संस्था र वर्गले सम्बन्धित प्रतिभाले सोच्नु पर्र्दैन ?
प्रतिभाहरुको भविष्य राम्रो हुनुपर्छ । बनाउनुपर्छ । प्रतियोगिता जित्नु अथवा उत्कृष्ट तीन या दशमा पर्नुभन्दा ठूलो चुनौती अव सांगीतिक बजारमा थपिन्छ । आफ्नो उपस्थिति आफै कायम गर्न सक्नुपर्छ । कालान्तरसम्म बजारमा काम पाउनु र सांगीतिक क्षेत्रमा टिक्ने अवस्था सिर्जना गर्नु अबको चुनौती हो । अब उनीहरुको सांगीतिक भविष्य उनीहरुले अब गाउने वास्तविक गीत, छनौट गर्ने शब्द तथा संगीतमा निर्भर रहन्छ । अब उनीहरुले आफूलाई प्रमाणित गरेर देखाउने बेला आएको छ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो क्षमता तथा मौलिक पहिचान पृष्टि गर्न उनीहरुले आफ्नो आवाज तथा गीतको माध्यमबाट कर्णप्रिय स्वरले मात्र होइन साधना, सांगीतिक संस्कारको उदाहरण बनेर नेपाली संगीतमा इतिहास रच्ने बेला आएको छ ।
आजको समयमा गायक ब्राण्डेड नभै शब्द र संगीत ब्राण्डेड भएको अवस्था छ । जसले मुख मुखमा झुण्डिने गीत संगीत गाउँछ उही अघि बढ्छ । उत्कृष्ट तीनमा पर्नेहरुलाई अझ गाह्रो छ । सांगीतिक बजारमा जम्न एक वर्षसम्म सम्झौता विपरित बाहिर कुनै पनि कार्यक्रममा सहभागिता जनाउन तथा नयाँ गीत रेकर्ड गराउन सक्दैनन् यिनीहरुले । यो अवधिमा उनीहरु आयोजकले उपलब्ध गराएको प्रायोजित मञ्चमा नारायण गोपाल, भक्तराज आचार्य, अरुण थापा, रामकृष्ण ढकाल, राजेशपायलका कभर गीत गाएर हिड्नेछन् । त्यतिबेलासम्म आमदर्शक तथा श्रोताहरुको मुड नेपाल आइडल २ मा पुगिसकेको हुन्छ । विगतका रियालिटी शोका विजेताहरुले समेत यही नियति भोगेकै हुन् । त्यसमाथी आयोजकले यिनीहरुलाई नेम र फेम त दियो तर आवश्यक सांस्कृतिक संस्कार दिएको देखिएन । कलाकारसँग प्रतिभाको साथमा संस्कार पनि चाहिन्छ । यो छैन भन्ने कुरा यिनीहरुको व्यवहारले पुष्टि गरिसकेको छ । तसर्थ यि प्रतिभाहरु पनि विगतमा झै त्यतिकै खेर जाने सम्भावना देखिन्छ । तर हामी चाहन्छौ सबैको उन्नती प्रगति होस् ।