यथार्थपरक गीत ‘सेतो साडी’

गीतकार जितेन्द्र बानियाँको यथार्थपरक गीत ‘सेतो साडी’ सार्वजनिक भएको छ ।  वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका उनले  विदेशमा श्रम गर्न बाध्य नेपाली र उनीहरुमा आश्रित परिवारको कथाव्यथा समेटिएको गीतको भिडियो ल्याएका हुन्  ।गीतले विदेशिएका अधिकांश नेपालीको पीडा, स्वदेशमै केही गर्न र धनकै लागि विदेशिन नपरोस् भन्ने मर्मलाई उठाएको छ ।

गीतमा गायक सागर संसार राईको स्वर तथा संगीत संयोजन रहेको छ भने संगीत विनोद बस्नेतको सुन्न सकिन्छ ।  राजेश पुमा राईको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता सुरविर पण्डित, अभिनेत्री सुनिशा बजगाईं र प्रविण केसीको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन्  ।  गीतकार जितेन्द्र बानियाँले कोरियामा बस्दाको दश वर्षभित्र भोगेका घटनाक्रमलाई गीतमार्फत् उतारेका छन् । घरको नाजुक अवस्थालाई लिएर विदेश पलायन हुनेहरुको बीचबाट रातो बाकसमा फर्किनेहरुको ताँती र घरमा उसको आशामा भर परिरहेका परिवारका सदस्यहरुको सपनासँगै सेतो साडीमा परिणत भएकी प्रियसीको कथालाई जितेन्द्रले गीतमा उतारेका छन् ।