‘दयारानी’को फस्टलुक सार्वजनिक

‘दयारानी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नायिका दीया पुनलाई शिर्ष भूमिकामा राख्दै चलचित्र ‘दयारानी’को निर्माण गरिएको छ । यो चलचित्रको फस्टलुक आज काठमाण्डौमा एक कार्यक्रमको आयाजना गर्दै सार्वजनिक गरिएको छ । चलचित्रमा विजय बरालको पनि मुख्य भूमिका छ ।

यो चलचित्र वि.सं २०७६ सालको जेठ १० गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा यो चलचित्र निर्माण भएको हो । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले चलचित्रको नाम राखिएको निर्देशक गुरुङले बताए । एउटा खराब श्रीमान् र उसकी श्रीमतिको कथामा यो चलचित्र बनेको छ ।

शैलेन्द्रध्वज कार्कीले यो चलचित्रको छायांकन गरेका हुन् । निर्देशक माओत्से गुरुङले नेपाली समाजको एउटा पात्रको कथालाई सुक्ष्म रुपमा उठान गरेको बताए । दर्शकले चलचित्र मन पराएको खण्डमा आफू सफल भएको ठान्ने उनले बताएका थिए । फस्टलुक सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता राईले सिनेमाको कथावस्तु पढेपछि आफू प्रभावित भएर सिनेमामा काम गरेको बताए ।