बी डिभिजन लिग आजदेखि

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिगता आजदेखि सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको बी डिभिजन लिगको भोलिदेखि ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुदैछ ।

आज हुने उद्घाटन खेलमा झम्सिखेल युथ क्लबले ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टिम जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । त्यस्तै,आज नै हुने अर्को खेलमा टुसाल युथ क्लबले श्री बागमती क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगमा १२ टिमको सहभागिता रहेका छन् । समूह ‘ए’ मा झम्सिखेल युथ क्लब, आरसीटी, श्री कुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन रहेका छन् । त्यस्तै, समूह बी मा टुसाल युथ क्लब, पुलचोक स्पोर्टस् क्लब, मध्यपुर युथ एसोसिएसन, खुमालटार युवा क्लब, बाँसबारी क्लब र श्री बागमती क्लब रहेका छन् ।

लिगको समूह चरण राउन्ड रोविनको आधारमा हुनेछ । एउटा टिमले समूहमा पाँच वटा खेल खेल्नेछ । समूहको शीर्ष दुईमा पर्ने टिमले फाइनल राउन्डमा प्रवेश गर्ने छन् । फाइनल राउन्डमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ । फाइनल राउन्डमा समूह चरणको अंक भने जोडिने छैन ।

विजेता टिमले नगद आठ लाख रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेता बन्ने टिमले पाँच लाख नगद प्राप्त गर्ने छ । त्यस्तै, तेस्रो हुनेले तीन लाख र चौथो हुनले दुई लाख नगद प्राप्त गर्ने छ ।

प्रतियोगिता तयारीका लागि एन्फाले प्रत्येक टिमलाई ७ लाखको दरले बजेट दिएको थियो । विना रेलिगेसनमा हुन लागेकाे लिगमा पुछारका दुई टिमलाई अर्को वर्ष हुने लिगमा एक अंक काटिनुका साथै ५० हजार नगद पनि कटौती गरिने एन्फाले जानकारी दिएको छ ।