छालाका लागि वरदान:दुधको तर


जुली प्याकुरेल

यदि तपाईं सुन्दर, निखारिएको छाला चाहनुहुन्छ भने दुधको तरले तपाईलाईं निकै फाइदा पुर्याउँछ । जाडोयाममा छाला रुखो हुने, दाग धब्बालगायतका समस्या देखापर्छ । तर स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ तर धेरै फ्याट हुने भएकाले धेरै मानिसहरु यो खाँदैनन् । तर छालाको समस्याका लागि तपाईंले तर खाने होइन, लगाउने गर्नुपर्छ ।

छालाको लागि सबैभन्दा राम्रो मोइस्चुराइजरः 

दुधको तर तपाईंको छालाका लागि सबैभन्दा राम्रो मोइस्चुराइजर मानिन्छ । केही मिनेटसम्म अनुहारमा तरले मसाज गर्दा छालाको ‘ड्यामेज टिश्यु’ रिपेयर हुन्छ जसका कारण छाला स्वस्थ हुन्छ

तरले छालाको सबै दाग धब्बा हटाउँछः 

यदि तपाईंको छालामा दागधब्बा धेरै छन् भने बेसनले छाला सफा गरेपछि तर र कागती लगाउनुहोस् । त्यसपछि अनुहारलाई हल्का मनतातो पानीले धुनुहोस् । राती सुत्नुअघि यसो गर्दा बिहान उठ्दा तपाईंले यसको असर देख्नुहुनेछ । तर मा भिटामिन इ र ल्याक्टिक एसिड हुन्छ जसले छालामा निखार ल्याउँछ । यस्तै, कागतीमा पाइने भिटामिन सीले छालाको रङ सफा हुनुका साथै दाग धब्बा हल्का हुनथाल्छ ।

चाउरीपन कम गर्छः

आँखा र अनुहारमा पर्ने चाउरीलाई कम गर्न निकै सहयोग गर्छ । राती दुधको ताजा तरमा थोरै आँटा मिसाएर अनुहारमा लेप जसरी लगाउनुहोस् । लगाएको १५ मिनेटपछि चिसो हातले अनुहारमा मज्जाले रगड्नुहोस् र सबै आँटा रगडेर नै हटाउनुहोस् । त्यसपछि अनुहारलाई चिसो पानीले धुनुहोस् ।

अनुहार चम्किलो बनाउन तरको फेसप्याकः

तरमा बेसन, मुल्तानी माटो, सुन्तलाको बोक्राको पाउडर र स्याउलाई पिसेर एउटा पेष्ट बनाउनुहोस् । यसलाई अनुहार र हात–खुट्टामा लगाउनुहोस् । यसले छाला सफा र नरम हुन्छ । अनुहार तथा कुहिनोमा लगाउँदा छालाको रङमा निखार आउँछ । चाउरी र छालाको दाग धब्बा हट्दै जान्छ । साथै, छाला फुट्ने जस्ता समस्या पनि हुँदैनन् । तरले छालाको रुखोपनलाई हटाउँदै स्वभाविक कोमलता प्रदान गर्छ ।

छालालाई जवान बनाइराख्न तरः

दैनिक रुपमा अनुहारमा तर लगाउँदा छाला लामो समयसम्म जवान रहिरहन्छ । तरमा भएको प्रोटिन र भिटामिनले छालामा कोलेजनको उत्पादन बढाउँछ जसले छालालाई जवान बनाइराख्छ ।