बी डिभिजन लिग : झम्सीखेल र टुसालको विजयी सुरुवात

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिगता झम्सीखेल युथ क्लब र टुसाल युवा क्लबले विजय सुरुवात गरेका छन् । शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा झम्सीखेलले ब्वाइज युनियन क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । झम्सीखेलको जितमा एलिस लुङ्गेलीले निर्णायक गोल गरे । उनले खेलको ३९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि झम्सीखेलले जित हात पारेको हो ।

त्यस्तै आजै भएको अर्को खेलमा टुसाल युवा क्लबले श्री भगवती क्लबलाई पनि १–० गोलअन्तरले नै पराजित गरेको छ । टुसालको जितमा एलोन राईले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे । बी डिभिजनको विजेताले नगद आठ लाखसहित ट्रफि हात पार्ने छ । त्यस्तै, उपविजेता बन्ने टिमले पाँच लाख नगद प्राप्त गर्ने छ । त्यस्तै, तेस्रो हुनेले तीन लाख र चौथो हुनले दुई लाख नगद प्राप्त गर्ने छ ।
त्यसअघि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बी लिगको उद्घाटन गरेका थिए । लिगको अर्को खेल आइतबार हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।