वीर गणेशमान बक्सिङ : प्रतियोगिताको महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लब

वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले ६ तौल समूहमा तीन स्वर्ण, २ रजत र १ कांस्यसहित महिलातर्फ दबदबा कायम गर्दै उपाधि जितेको हो ।

शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०–६४ केजी तौल समूहमा पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन् । ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकै सुलभ थापामगरलाई हराइन् । ५१–५४ केजीमा आर्मीकी  मिनु गुरुङले नेपाल पुलिस क्लबकी निशा तामाङलाई पराजित गरिन् ।

एपीएफका लागि संगीता सुनारले र माला राईले स्वर्ण हात पारे । संगीताले ५७–६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठलाई हराइन् । मालाले ४८–५१ केजीमा आर्मीकै विमला श्रेष्ठलाई पराजित गरिन् । ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले आफ्नो विभागका लागि एकमात्र स्वर्ण जित्ने क्रममा प्रदेश ५ की सुशिला थापालाई हराइन् ।