हिरो गोल्डकप :नेपाल फाइनलमा, भारत आउट


नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेसँगै नेपाल र म्यानमारको उपाधि भिडन्त तय भएको हो । नेपालले बुधबार भएको खेलमा इरानलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको थियो । समूह चरणको दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गरेपछि नेपाल फाइनल पुग्ने सम्भावना बढेको थियो । म्यानमारले अन्तिम खेलमा भारतलाई पराजित गरेपछि नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो ।

समूह चरणमा म्यानमारले ३ खेलमा ३ जित दर्ता गर्दै समूह विजेताको रुपमा फाइनलमा स्थान बनायो । नेपालले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडेर उपविजेता बन्यो । भारत ३ खेलमा १ जित र २ हार सहित ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिंदा अंकविहिन इरान अंक तालिकाको पुछारमा रहयो । नेपाल र म्यानमारले अब शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-० को हार बेहोरेको थियो । त्यसअघि नोभेम्बरमा भएको ओलम्पिक छनोट खेलमा नेपाल र म्यानमारको खेल १-१ को बराबरीमा सकिएको थियो ।