आरसीटीमाथि श्री कुमारीको जीत

कुमारी क्लबले शहीद स्मारक बी डिभिजन लिग फुटबलमा नाटकीय प्रदर्शन गर्दै जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा श्री कुमारीले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई ४–२ गोलअन्तरले पराजित गर्न सफल भयो । दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै श्री कुमारीले आरसीटीमाथि चार गोल गर्न सफल भयो ।

श्री कुमारीका लागि सुजन महर्जनले दुई गोल गर्दा गणेश बडुवाल र विशाल तामाङले १–१ गोल गरे । आरसीटीका संसार नन्द पलानचोके र उनम बुढाथोकीले गोल गरेका थिए । खेलको नवौं मिनेटमा पलान्चोके र १७ औं मिनेटमा बुढाथोकीले गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । तर श्रीकुमारीले उत्कृष्ट पुनरागमन गर्दै चार गोल गर्दै ४–२ गोलअनतरले जीत हात पार्न सफल भयो ।

त्यस्तै, आजै भएको खेलमा पुल्चोक स्पोर्टस् क्लबले मध्यपुर युथ एसोसिएशनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पुल्चोकको जीतमा रामकाजी कुमाल र टिकाराज गुरुङले गोल गरे । मध्यपुरका लागि प्रदीप लम्सालले गोल फर्काएका थिए ।