नेपाल हिरो गोल्डकपको उपविजेता

नेपाली महिला फुटबल टोली आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधिबाट पुनः बञ्चित भएको छ । शुक्रबार भारतको उडिसामा भएको हिरो वुमन्स् गोल्डकप प्रतियोगिताको उपाधिका लागि भएको भीडन्तमा नेपालले फेरि नतिजा म्यान्मारलाई ३–१ ले सुम्पियो । खेल मध्यान्तरसम्म भने दुवै टिमले १–१ को बराबरी खेलेका छन् । तर, ५४ र ६३ औं मिनेटमा म्यान्मारले दुई गोल थपेको थियो । 
उपविजेता हुँदै नेपालले ५ लाख भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ८ लाख) जितेको छ । विजेता म्यानमारले ७ लाख भारतीय रुपैयाँ जितेको छ ।

म्यान्मारले प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपाललाई ३–० ले हराएको थियो । फिफा बरियतामा म्यान्मार ४४ औं स्थानमा छ भने नेपाल १०८ औं स्थानमा । म्यान्मारले ३४ औं मिनेटमा गोलको अग्रता लिएको थियो । तर, मध्यान्तरको थप एक मिनेटको इन्जुरी समयमा नेपालकी मञ्जली योञ्जनले गोल फर्काएर बराबरी सम्भव तुल्याइन् । नेपाली समयानुसार साँझ ६ः१५ बजे शुरु भएको थियो । 

६७ औं मिनेटमा मिडफिल्डर रेनुका नगरकोटीको स्थानमा फरवार्ड निरु थापालाई मैदान छिराए पनि प्रशिक्षक हरि खड्काको योजना सफल हुन सकेन । पहिलो हाफमा राम्रो बचाव गरिरहेको नेपाल टिममा दोस्रो हाफमा स्टामिनामा समस्या देखिएको थियो । ४–५–१ को फर्मेसनमा खेलेको नेपालका लागि फरवार्ड लाइनमा पनि सावित्राले बनाएका केही राम्रा मुभ रिसिभ गर्ने खेलाडीको अभाव देखिएको थियो । त्यसले गर्दा बलियो टोली म्यानमारलाई हराएर पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालको अवसर गुम्न पुग्यो । हिरो महिला गोल्डकप प्रतियोगितालाई आउँदो मार्चमा नेपालकै विराटनगरमा हुने पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको तयारीका रुपमा लिइएको थियो ।



गत नोभेम्बरमा म्यान्मारको राजधानी यांगुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एशियाली छनोटको पहिलो चरणको भेटमा नेपालले म्यान्मारलाई १–१ मा रोकेको थियो । नेपालले फाइनल यात्राका लागि दक्षिण एशियाली च्याम्पियन भारत र इरानलाई पराजित गरेको थियो ।