सुनिता र प्रकाशको ‘मुखैमा चिनी’ सार्वजनिक

बिक्रमको साठीको दशकमा नेपाली लोकगायनमा देखापरेर निक्कै राम्रो छबी बनाउन सफल लोक गायिका सुनिता दुलालले आज आफ्नो नयॉ गीत “मुखैमा चिनी” सार्वजनिक गरेकी छिन् । तिज गीतमा निक्कै सफल मानिएकी सुनिताले यसपटक गायक लयसंकलक प्रकाश सपुतसंग सहकार्य गरेकी छिन् । लय शब्द र स्वर प्रकाशकै रहेको यो गीतमा बिबि अनुरागीको संगीत संयोजन छ ।

म्युजिक भिडियो सहित सार्वजनिक भएको यो गीतमा केकी अधिकारी र सुनिता दुलालको आकर्षक नृत्य पनि छ । राम्रो कोरस टोलीको साथमा गीतलाई प्रस्तुत गरिएकाले भिडियो भव्य देखिएको छ । गम्भिर बिष्टले कोरियोग्राफ़ी गरेको यो गीतमा उनी आफैले पनि नाचेकाछन् ।

संगीतकार दीपक जंगमको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोह बिच यो श्रव्य दृश्य सामाग्री सार्वजनिक गरिएको थियो । समारोहमा संगीत क्षेत्रका व्यक्तित्वहरुको राम्रो उपस्थिती थियो । गीत मौलिक लयमा रहेकाले हिट फ्लप आफ्नो ठाउमा छ तर यसले सुनिताको गायन यात्रामा भने निक्कै महत्व राख्ने देखिन्छ । उनले पहिले ल्याएका गीतहरु भन्दा यो पृथक कोटीको छ ।