ओलम्पिक २०२० छनोट चरण:नेपाल म्यानमारसँग पराजित

नेपाली महिला राष्ट्रिय फुटबलटोली टोकियो ओलम्पिक २०२०को दोस्रो चरणको छनोटअन्तर्गत पहिलो खेलमा म्यानमारसँग ३-१ ले पराजित भएको छ। खेल मन्दलर थिरी रंगशालामा भएको थियो।

म्यानमारले खेलको २४ औं मिनेटमा यी यी ओको गोलमा अग्रता लिएको थियो । नेपालकी कप्तान निरु थापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याइन । म्यानमारले पहिलो हाफमा निकै आक्रमण गरेपनि नेपाली डिफेन्सले त्यसलाई विफल पार्न सफल भएको थियो अतिरिक्त समयमै नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै म्यानमारका लागि विन थेंगी तुनले पेनाल्टीमा गोल गर्दै म्यानमार लाई अग्रता दिलाइन् । कप्तान निरु थापाले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि बराबरी बनाउनबाट नेपाल चुकेको थियो । खेलको अन्तिम मिनेटमा तुनले नै म्यानमारको अग्रता बढाइन् । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले क्रसमा आएको बल फुस्काएपछि तुनले खाली पोस्टमा गोल गरेकी थिइन् ।

समूहको अर्को खेलमा भारतले इन्डोनेसियालाई २-० ले पराजित गरेको थियो । यससँगै म्यानमार अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल पुछारमा पुगेको छ। जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् ।

दोस्रो खेलमा नेपालले अब भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।