एएफसी कप : अबहानीसँग हार्‍यो मनाङ

 एएफसी कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब घरेलु मैदानमै पराजित भएको छ । बुधबार भएको खेलमा मनाङ ढाकाको अबहानी युनाइटेडसँग १-० गोलले पराजित भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङविरुद्ध आबहानीले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थियो ।


खेलको २९ औं मिनेटमा अबहानीले सुरुवाती अग्रता दिलाएका थिए । अबहानीका लागि मासिया साईघानीले गरेको गोल नै खेलमा निर्णायक गोल बन्न पुग्यो । यसअघि ११ औं मिनेटमा सुजल श्रेष्ठले डी-बक्स भित्रबाट गरेको प्रहार अबहानीका गोलरक्षक साहिदुल अलमले सजिलै बचाउ गरे । १३ औं मिनेटमा अन्जन बिष्टको प्रहार साहिदुलले क्लियर गरि दिए । 


दोस्रो हाफमा पनि मनाङले पाएको सुवर्ण अवसरहरु सदुपयोग गर्न सकेन । लिग च्याम्पियन भएपछि एएफसी कप खेल्ने अवसर पाएको मनाङ घरेलु मैदानमा ढाकाको सामना गर्नुपरेको हो । होम एन्ड अवेको आधारमा भएकोे छनोटको समूह ‘इ’ मा मनाङसँगै, बंगलादेशको ढाका अबहानी, भारतका दुई क्लब मिनर्वा पञ्जाब र चेन्नाईयीन रहेका छन् ।