‘जाइरा’को रोमान्टिक गीत ‘आँखैले बोल्छ’सार्वजनिक

भदौ ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले फिल्मको यो गीत सार्वजनिक गरेको हो । सन्तोष लामाको स्वर रहेको गीतमा कल्याण सिंहको संगीत र रवि मल्लको शब्द छ । गीतको भिडियोमा कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाहीको अभिनय देख्न सकिन्छ ।

कार्यक्रममा नम्रता र अनुपले स्टेज नृत्य समेत प्रस्तुत गरेका थिए । कोरियोग्राफर गोविन्द शाहीले चार दिन लगाएर दुईलाई स्टेजका लागि नृत्य सिकाएका थिए । स्टेजमा दुईको जोडी कमालको देखिएको थियो । गीतले अनुप र नम्रताको प्रेमभाव बोल्छ । अभिनेत्री नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन् । फिल्मका लागि उनले ८ महिना तालिम लिएकी थिइन् भने आफ्नो कपाल समेत काटेकी थिइन् । आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय छ । उनको यो डेब्यू निर्देशित चलचित्र हो ।

प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा फिल्म बनेको हो । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । फिल्ममा केशव थापाको नृत्य निर्देशन छ, भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।