लालीगुरॉस सहकारीको चंगुलमा म यसरी फसे ! -रामकृष्ण ढकाल

म सानैदेखि गायनमा संक्रिय रहेर सबैको माया पाएर रमाएको जनताकै कलाकार हु । जनमनकै मायामा म टिकेको छु । २०४२ सालदेखि आजसम्म  जनताकै मायाले अधि बढ्दै आएको छु। यात्रा अहिले पनि जारी छ । जे जति कमाए जहॉ पुगे सबै जनमनकै कारणले हो । मेरो प्रतिभा र क्षमता जेजति देखाउन सके सबै जस जनतालाई नै जान्छ । बहुत दुख कष्ट झेलेर नाम कमाएको छु ।
प्राय सबै गीतकार , संगीतकारज्युहरुको माया सदभाब पाएकाले सबैसंग काम गर्ने अबसर पाए । कामकै शिलशिलामा धेरैजानासंग नजिक पनि भए । गहिरो मित्रता कायम रहदै गयो । यसरी नै प्राय सबैको माया सदभाब र आर्शिवाद पाएकाले संसारमा मेरो त कोहि दुश्मन छैन भन्ने ठान्दै गए । हुन पनि बाल्यकालदेखि लक्का जवान हुदॉसम्म पनि कहिल्यै कसैसंग सम्बन्ध बिग्रेन । यहि कारणले सबैलाई जहिल्यै पनि मित्र नै देख्ने स्वभाब ममा रहदै आयो । यहि स्वभाबले कहिले काहि मानिसलाई नराम्ररी धोका पनि दिदो रहेछ । अहिले म त्यसैको शिकार भएको छु ।

सुनेको थिए सारो गाह्रो पर्दा बैंक र सहकारी संस्थाहरु साथीजस्ता भएर आउछन् । तर मेरो अनुभब यो सबालमा तितो रहयो । २०६५ सालसम्मको अवधि मेरो करियरकै सबैभन्दा उत्तम रहेकाले ऋण कसैसंग लिन परेन ।आरामकै जिन्दगी थियो । अशल साथीहरु र शुभचिन्तकहरु पाएकाले खुशी नै थिए । सानो परिवार र सुखी परिवारमा रमाएकै थिए । त्यस्तैमा एउटा कार्यक्रममा सहभागी हुदा सुरेन्द्र भण्डारीसंग चिनजान भयो । संगीतप्रेमी हु तपाईको ठुलै फ्यान बताएपछि म पनि फुरुंग । तुरुन्त गज्जब निकट दोस्ती भयो हाम्रो । त्यसपछि हाम्रो भेटघाट जावतआवत बढ्दै भयो । मेरो सबै कुरा र अवस्था  बुझे उनले । मैले पनि असल साथी नै हुन भनेर कतिपय कुरा खोल्दै गए।

संगीतमा लागेर कमाएर जोडेको घर अलि पुरानै भएको थियो । मेरो घर देखेर सुरेन्द्रजीले मलाई बिस्तारै उचाल्न थाले । ” तपाई जस्तो देशकै उत्कृष्ठ गायकले पनि कहॉ सधै एउटै घरमा बसिरहेको यसरी हुदैन घर फेर्नु पर्छ । सुबिधा सम्पन्न घर लिनु पर्छ ।” उनले बारम्बार यसरी नै नयॉ घर लिन प्रेरित गरिनै रहे । मेरो सोच त्यतिखेर पनि नयॉ घर किनीहाल्ने भन्ने थिएन । उनले बारम्बार कर गरिरहन्थे । “ घर खोज्ने मिलाउने सबै काम मेरो “ भन्थे । करिब १ वर्ष नै उनले मलाई कन्भिन्स गर्ने प्रयास गरिरहे । पटक पटक भने पछि मेरो कमलो मन पनि बिस्तारै परिवर्तन भयो । उनको कुरा ध्यान पुर्वक सुन्न थाले ।आफ्नो अवस्था पनि बताए । घर लिनोस सारो गाह्रो अवस्थामा म हेरुला भने । अन्तत:२०६६ सालमा पत्नी निलमको नाममा घर लिने निर्णय गरे । सुरेन्द्र भण्डारीले राम्रो सहयोग गर्ने वचन दिए । म उनी प्रति आभारी भए ।

गला सुकाएर देश बिदेशमा जुत्ताको तलुवा फटाएर जोहो गरेको केहि पैसा मसंग थियो । नपुग पैसा सुरेन्द्रले आफ्नै सहकारीबाट ऋण मिलाईदिने भए । व्याज पनि कम लिने बचन दिए । साथी  भनेर  उनकै भरोषामा परे । यो भन्दा अधि कहिल्यै ऋण नलिएकाले यस सम्बन्धी त्यति बुझेको थिईन । साथीको नाताले सुरेन्द्रले सबै मिलाउछ भनेर ढुक्क भए । सुरेन्द्रले मलाई घर पनि देखायो चित्त बुझ्यो घर पनि । किन्न राज़ी भए ।  घर  किन्न सुरेन्द्रले आफ्नै सहकारीमार्फत ऋण दिन तयार भए । म सिधा मान्छे सुरेन्द्रलाई भगबान नै ठाने । मनमनै सोचे  “ कति असल मान्छे पैसा पनि आफै दिने घर पनि आफै खोजीदिने यस्तो मान्छे पनि संसारमा रहेछ।”

अन्तत: २०६६ साल फागुन ५ गते पाल्चोक स्थित लालीगुरासं सहकारी संस्थाले मेरी पत्नी निलमको नाममा ऋण स्विकृत गर्यो । यसवापत मैले सैवु स्थित आफ्नो जग्गा र त्यसमा बनेको घर धितो राखे ।आफ्नो मेहनतले कमाएर बनाएको घर यसरी धितो राख्दा मन अलि चस्स भएको थियो । चस्केको मनलाई राम्रै कामको लागि हो भनेर बुझाए । जिवनमा कहिल्यै नबोकेको ऋणको भारी यसरी बोके । ठिकै छ कमाई पनि छ । साथीले पनि सहयोग गर्छु भनेकै छ तिरिन्छ भनेर म ढुक्क थिए । विश्वासको कारणले कागजात पनि त्यति हेरिन । हेर्नै पर्ने बुझ्नै पर्ने मात्र हेरे । सहि गरे । लफडा होला फसिन्छ भन्ने कहिल्यै सोचिन ।

नयॉ घर पाएकाले दंग थिए । नयॉ साजसज्जा गर्छु भनेर सोचे । समय अनुसारको डेकोरेशन र डिजाईन गर्न लगाए ७५ लाख जति खर्च भयो । छोरी रानी र पत्नी निलम पनि नयॉ घर पाएर दंग थिए । आखिर सुख भनेकै परिवार सुख त हो नि भनेर म पनि दंग नै थिए । समय सधै एकनास नरहदो रहेछ । मलाई पनि समयले त्यति राम्रो साथ दिन छाड्यो । संगीत बाहेक आय आर्जनको अर्कों स्रोत थिएन । संगीतको बजार डिजिटलतर्फ लागेपछि तत्काल आय आर्जन भएन । कार्यक्रमहरु पनि राजनितिक कारणले गर्दा कम हुदै गएका थिए । यस्तो परिस्थितीमा मेरो पनि कमाई कम हुदै गयो । जसोतसो केहि ऋणको किस्ता चाहि तिर्न सकेको थिए । संगीतको बजार र अवस्था झन झन् बिग्रीदै गए पछि ऋणले गाह्रो पार्दै लग्यो । नियमित किस्ता तिर्न सकिएन । यता सहकारीले बारम्बार फोन गरेर ताकेता गर्न थाल्यो । यस्तो अवस्थामा सहयोग गर्छु भन्ने सुरेन्द्र पनि मेरो कुरा सुने पनि नसुने झै गर्न थाले ।

समग्र संगीत उद्योग धराशायी हुदा त्यसको असर मलाई पनि पर्यो । यस्तो अवस्थामा सहयोग गर्ने आश्वासन दिएर ऋण दिने साथी सुरेन्द्रले उल्टै मलाई अर्थ न वर्थका कार्यक्रममा गाउन लगाएर उल्टै श्रम शोषण गरे । साथीको लागि भनेर बिना पारिश्रमिक धरै कार्यक्रममा गीत गाईदिए । एकदिन तनाबमा कहि कतै नगई घरमै बसिरहेको थिए । सुरेन्द्र भण्डारीको फोन आयो । उठाए । ऋणको बारेमा नै कुरा भयो । सक्दो सहयोग गर्ने वचन दिएर अफिसमा बोलाए । कुरो मिलाउन भनेर गए । तर उनको सोच अर्कै रहेछ । म पुग्दा त उनीहरुले पुरै ऋणको हिसाब बोकेर बसिरहेको रहेछन् । सुरेन्द्रले तत्काल तिर्नु पर्ने व्याजलाई ऋणमा परिणत गर्ने प्रस्ताब राखे यसो गरे मात्र घर लिलामीबाट जोगाउन सकिने उनले बताए । ऋण लिएको दुई वर्ष पनि भएको छैन घरै लिलामी भन्ने कुरो कानमा परेपछि मेरो सातो गयो ।

कता कता सुरेन्द्रको भुमिका शंकास्पद लाग्न थाल्यो । अन्तत: मैले बरु घरै छोडिदिन्छु मलाई ऋण मुक्त गरिदेउ भने । तर उनीहरुले मानेनन मलाई तिर्नु पर्ने व्याजलाई ऋणमा परिणत गराउने कागज जोरजुलुम गरेर गराए । म पनि टेन्सनमुक्त हुन्छु कि भन्ने आशले उनीहरुको प्रस्ताब स्विकार्न बाध्य भए । मेरो नाममा पनि ५७ लाखको नयॉ ऋण बोकाउन लालीगुरास सहकारी सफल भयो । जिवनमा पहिलो चोटी कसैबाट ठुलो धोका खाएको अनुभूति भयो । सुरेन्द्रले साथी बनेर आफुलाई फसाएको चाल पाए । तर मसंग कुनै उपाए थिएन । नलिनु पर्ने ऋण लिएर म फँसी सकेको थिए । सुखी संसारबाट दुखी संसारमा आएको नमिठो अनुभब गरे ।

यो घटना लगत्तै म युरोप टुरमा निस्के । गाएरै कमाएर तिर्छु भन्ने सोच मनमा थियो । भरपुर मेहनत गरि  रहेको थिए । तर एक्कासी २०७१ साल जेठ २६ गते सहकारीले हामी दम्पतीको फोटो सहित घर लिलामीको सुचना निकाल्यो । जवकि सुरेन्द्रले मलाई ५७ लाखको ऋण बोकाउने बेलामा घर लिलामीमा जान दिन्न भनेको थियो । साथीले बोलेको बचन पुरा गरेन । म त्यतिखेर बेल्जियममा थिए । यताबाट निलमले रुदै फोन गरिन । म पनि रोए । पिडा भुल्न चियो बियर पिए । म यहॉ नभएको बेला सहकारीले २०७१ साल साउन २३ गते मेरो घर लिलाम गर्यो । लिलामीमा किन्न कोहि नआएको भन्दै मेरो घरको मोल आफै तोक्दै लिलामी गरेको थियो । ऋण दिनेवेलामा २ करोड ५० लाखको मुल्यांकन गरेको घर लिलामी गर्ने बेलामा १ करोड ५० लाख मात्रै मुल्य तोकियो ।

मेरो घर लिलामीमा गएको खबर सारा देशभरि फैलियो। मलाई धेरैले फोन गर्नु भयो । प्रधानमंत्रीदेखि धेरै नेताहरु , व्यापारी कर्मचारी सबैले मप्रति सहानुभूति देखाउनु भयो । के सहयोग गर्नु पर्छ भनेर सोध्नु भयो । तर मैले कसैसंग केहि मागिन । केहि नेताहरुले सहकारीमा फोन गरेर सहजीकरण गरिदिन आग्रह गर्नु पनि भएछ । तर यो मैले लगाएको थिईन ।स्वतस्फुर्त आफै भन्नु भएको थियो । यसैलाई सहकारीका प्रमुख सुरेन्द्रले मैले दबाब दिन लगाएको भनेर प्रचार गरे । नहुनु पर्ने मेरो भैसकेको थियो अब कसैलाई मिलाई दे भन्नुको कुनै तुक थिएन । त्यसैले म चुप थिए ।

१ करोड ८० लाख ऋण लिएर २ करोड ५० लाख मुल्याकंन भएको घर जग्गा सबै सहकारीलाई छोडिदिएको थिए । अझ त्यो घर मर्मत र डेकोरेशन गर्न गरेको खर्च जोड्दा ३ करोड ५० लाख पुग्छ । यतिका रकम माया पारे । तैपनि मलाई सहकारीले ऋण मुक्त ठानेन । ऋण चुक्ताको प्रमाणपत्र दिएन । घर लिलामी पछाडी पनि सहकारीले पछयाउन नछोडेपछि म बाध्य भएर जिल्ला अदालत पाटनमा मुद्दा हाले । अदालतको फैसला मेरो पक्षमा आयो । मैले मुद्दा हाल्दा सहकारीले कुनै रकमको माग दावी नै गर्न सकेन । त्यसैले अदालतले ऋणको हरहिसाब लगाउनु पर्ने नदेखिएको फैसला सुनाईदियो। यसको मतलब म ऋणमुक्त छु । यो लफडा यसरी सकिएको थियो ।

अहिले फेरि एकाएक त्यो सहकारीले मेरो ऋण बाकी भएको सुचना जारी गर्यो । म आश्चर्यमा परेको छु । मेरो बदनाम गर्न खाँटा बसेको घाउ फेरि कोट्याउने प्रयत्न हो यो। यसलाई मैले गम्भिर रुपमा लिएको छु । तत्कालीन कानुन अनुसार यदि धितो लिलामी गर्दा ऋणको परिपुर्ती भएन भने कुनै पनि सहकारीले ऋणदाताको अन्य सम्पतिबाट पनि असुल उपर गर्न सक्छ तर त्यसको झिनोफानो एक वर्ष भित्रै गरिसक्नु पर्छ । तर एक वर्षसम्म सहकारीले कतै मुद्दा दायर गरेन । जिल्ला अदालतको फैसला पछि चार वर्ष मौन रहेको सहकारीले  एकाएक अहिले आएर पत्रिकामा सुचना निकाल्नुको कारंण के हो ? यदि मैले त्यत्रो ५ करोड तिर्न बाकी थियो त आजसम्म के हेरेर बसेको ?

त्यसमाथी म अहिले बस्ने घर र सहकारीका मालिक सुरेन्द्र बस्ने घर ५ मिनेटको दुरीमा छ । आएर भन्न सकिन्थ्यो । म कालाकार मान्छे लुकेर लुक्न सकिन्न । सार्वजनिक कार्यक्रममा पुगेकै हुन्छु । त्यहि आएर पनि समाउन सकिन्थ्यो । म पुर्ण रुपमा ऋणबाट मुक्त छु । तिर्न जाने सवाल नै छैन । यो सुचना मेरो बदनाम गर्ने तरिकाले संप्रेषण भएको देखिन्छ । पछिल्लो दिनमा लालीगुरॉस सहकारीको बजारमा राम्रो चर्चा छैन । पिडित ऋणीहरु संगठित बनेको सुन्दैछु । यसैबाट अतालिएर कराएका होलान । पिडितहरु संगठित हुनु उनीहरुको अधिकार हो । तर यसमा मेरो कुनै योगदान हात छैन । उनीहरु आफै संगठित भएर आएका हुनुपर्छ । पाप एक दिन धुरीबाट कराउछ भन्ने सुनेको थिए सायद त्यसैको संकेत पो हो कि ! म पनि त्यो सहकारी बिरुद्ध मानहानीको मुद्दा दायर गर्ने सोचमा पुगेको छु ।

                                                                                                                    ( कुराकानीमा आधारित)