तेस्रो दिन :नेपालले जित्यो ८ स्वर्ण ५ रजत ८ कांस्य

करातेमा १ स्वर्ण, १ रजत,१ कास्य

कराँतेको कुमुतेमा नेपालले अर्को स्वर्ण जितेको छ । ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण दिलाएका हुन् । मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराए । स्वर्ण जिते पछि  रसाइलीले आफूले सागसम्मको यात्राका तय गर्न धेरै संघर्ष गरेको बताए। सागमा प्रतिस्पर्धा गरिरहँदा निकै डर लागेको बताउँदै उनले भने,  ‘म निकै खुशी छु। सबैले साथ र हौसला दिएका छन्। खेल्दा अलि डर लागेको थियो। घर परिवार र गुरुहरु सम्झें। स्ट्रगल गरेका दिनहरु याद आयो।’

यस्तै कुमितेको ६० केजी तौल समूहको व्यक्तिगत स्पर्धामा नेपालका राजु पुडासैनीले एक कास्य जितेका छन्।

करातेमा नेपालकी अनु गुरुङले रजत पदकमा सीमित बनेकी छिन्। कुमुतेको ६१ केजी तौल समूह मुनि गुरुङ बङ्गलादेशकी हुमाइरा अख्तरसँग पराजित भएपछि रजतमा चित्त बुझाउनु परेको हो । सातदोबाटोमा मंगलबार भएको खेलमा गुरुङ अख्तरसँग ५–२ अंकले पराजित भएकी हुन् ।

उसुमा २  स्वर्ण

मंगलबार बिहान उसुको थाउलोमा २  स्वर्ण हासिल गरेको हो । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् । मंगलबार लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा विजयले ९.४८ प्वाइन्ट बनाए । ९.३४ प्वाइन्ट जोडेका बंगलादेशका मोहम्मद ओमारले रजत जित्दा पाकिस्तानका मोहम्मद अब्दुलले काश्य जितेका छन् ।

यस्तै सुस्मिताले ९.४४ अंकका साथ स्वर्ण जितेकी हुन् । श्रीलंकन खेलाडीले रजत र बंगलादेशका खेलाडीले काश्य जितेका छन् ।सुस्मिताले अघिल्लो संस्करणमा स्वर्ण जित्न सकेको  थिइनन् । ‘गेल्ड जित्छु भनेर नै मेहनत गरेको थिए । आज सफल भए । एकदमै खुसी छु’ उनले भनिन् ।एसियन गेम आफ्नो लक्ष्य भएको उनले सुनाइन् ।

१२ औं दक्षिण एसियाली खेलकुद मा रजतमै सीमित बनेपछि उसु खेलाडी विजय सिञ्जाली भक्कानिएका थिए। १६ वर्षे विजयलाई सम्हाल्न प्रशिक्षकलाई समेत गाह्रो परेको थियो। तीन वर्षपछि भने माहौल फेरिएको छ।१३ औं सागमा उसुको छानछ्वान विधामा स्वर्ण जितेपछि सिञ्जाली निकै हार्षित देखिन्थे।’भारतमा भएको सागमा रजतमा सीमित बनेपछि निकै रोएको थिएँ,’ उनले भने,’अहिले स्वर्ण जित्दा निकै खुसी छु, मलाई सिकाउने सबै गुरुहरूलाई धन्यवाद दिन चाहन्छु।’

१९ वर्ष सिञ्जालीले सागमा स्वर्ण जित्ने यसअघि नै अनुमान गरिएको थियो। किनभने उनले गत अक्टोबरमा चीनको संघाईमा भएको विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। १० पूर्णाङ्कको छानछ्वानमा सिञ्जालीले उत्कृष्ट कला देखाउँदै ९.४२ अंक जोडेका थिए भने विश्वभरका ८८ खेलाडीमध्ये १६ स्थानमा रहेका थिए। यो अंक दक्षिण एसियाका खेलाडीमा उत्कृष्ट मानिन्छ। मंगलबार लगनखेलस्थित आर्मीको कबर्डहलमा सिञ्जालीले उत्कृष्ट कला देखाए।

पाँच खेलाडी सहभागी भएको प्रतिस्पर्धामा सुरूमै चार खेलाडीले आफ्नो कला देखाएर अंक जोडिसकेका थिए। जसमा बंगलादेशका मोहम्मद ओमारले ९.३४ अंक र भारतका अन्जुलले ९.१६ अंक जोडेका थिए। त्यसैले अन्तिममा म्याटमा उत्रनुअघि सिञ्जालीमाथि ठूलो दबाब थियो।’मैले अरु प्रतिद्वन्द्वीहरूको खेल हेरिन्। किनभने अरुको हेर्दा आत्मविश्वास कम हुन्छ कि भन्ने डर थियो,’ उनले भने,’जब मैले खेलिसकेँ सँगै रहेका गुरुले मैले जित्ने संकेत गरेपछि ढुक्क भएँ।’ सिञ्जालीले ९.४८ अंक ल्याएर उसुबाट १३ औं सागमा पहिलो स्वर्ण दिलाए। अब उनले एसियाली खेलकुदमा पदक जित्ने लक्ष्य बनाएका छन्।

उसुबाट  स्वर्ण जितेकी सुस्मिता तामाङको पनि कथा उस्तै छ। उनी पनि भारतमा भएको १२ औं सागमा रजतमै चित्त बुझाउन बाध्य भएकी थिइन्।तीन वर्षपछि उनको प्रदर्शनमा निखार आयो। जसले उनले सजिलै स्वर्ण जित्न सफल भइन्। हुन त सुस्मितालाई पनि सागकी स्वर्ण दाबेदारको रूपमा लिइएको थियो। म्याचमा उत्रर्ने अघिल्लो दिन सुस्मिता निकै ‘नर्भस’ भएको बताउँछिन्।’हिजो राति ९ बजे सुत्न खोजेको सक्दै सकिनँ,’ उनले भनिन्,’भोलिको प्रदर्शन कस्तो हुने हो भन्ने चिन्ताले सताएको थियो।’विश्व च्याम्पियनसिपमा ‘डिफिकल्टिज अफ डिग्री’ परिवर्तन गर्दा उनको प्रदर्शन बिग्रिएको थियो।

अझ उसुको म्याट ढिला आउँदा राम्रोसँग अभ्यास गर्न पाएकी थिइनँ। ‘नयाँ म्याटमा एक दिन मात्र अभ्यास गर्न पाएँ, त्यसैले ‘डिफिकल्टिज अफ डिग्री’ परिवर्तन गर्दा समस्या आउँछ कि भन्ने चिन्ता थियो,’ उनले भनिन्।तर त्यस्तो केही भएन। सुस्मिताले उत्कृष्ट प्रदर्शन गरिन्। उनले उसुको छानछ्वान ९.४४ अंक ल्याएर स्वर्ण जितिन्। दोस्रो भएकी श्रीलंकाका वातसालाले ८.८५ र तेस्रो भएकी बंगलादेशकी नुर बाहेर बेगमले ७.३५ अंक प्राप्त गरिन्।’सागमा स्वर्ण जित्ने सपना पूरा भएको छ, अब एसियाली खेलकुदमा नेपालका लागि पदक दिलाउन चाहन्छु,’ उनले भनिन्।

ट्रायथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते

त्यस्तै, १३औं दक्षिण एसियाली खेलकुदको ट्रायथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जितेका छन् । मंगलबार बिहान पोखराको फेवाताल किनारमा भएको प्रतियोगितामा नेपालकै नेपालकै लक्षमण मल्ललाई पराजित गर्दै टमाटाले स्वर्ण जितेका हुन्। प्रतियोगितामा  नेपाल , भारत र श्रीलंका तीन देशका खेलाडी सहभागी थिए ।

साग इतिहासमा महिला एथ्लेटिक्स खेलाडीलेको पहिलो स्वर्ण

एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् ।साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।

पहिलो ल्यापदेखि नै सन्तोषीले अग्रता बनाएकी थिइन् । सुरुवातदेखि नै सन्तोषीलाई पछ्याएकी कविताले अन्तिम १ सय मिटरमा अग्रता लिएपनि सन्तोषीले अन्तिम सेकेन्डमा पदक जित्न सफल भइन् । कविता सन्तोषीभन्दा १ मिलिसेकेन्डले पछि परेकी हुन् ।यसअघि श्रीलंकामा भएको सागमा कान्छीमाया कोजुले जितेको रजत पदक नै नेपालको उत्कृष्ट प्रदर्शन थियो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सन्तोषीले स्वर्ण जितिन्, त्यो पनि मात्र १ मिलिसेकेन्डले ।जितपछि  संक्षिप्त प्रतिक्रिया दिँदै सन्तोषीले भनिन्, ‘यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । अरु धेरै अनुभवीहरु आउनु भएको होला । त्यसैले म आफ्नो वेष्ट दिन्छु भन्ने मात्र थियो । स्वर्णबारे सोचेको थिइनँ । दौड पूरा गरिसकेपछि एकछिन त के भएँ भन्ने पत्तै भएन ।’

दशरथ रंगशालामा मंगलबार दौड सुरु गर्दादेखि नै उनले लिड गरेकी थिइन् । सुरुमा २०० मिटरजति अरुको दौड जाँचेकी सन्तोषीले गति लिन थालिन् । दौडको हरेक चरणमा उनी अगाडि थिइन् । तर अन्तिम चरणको पनि करिव ५० मिटर जति बाँकी हुँदा भारतकी कविता यादवले उछिन्न खोजिन् ।कविताले सन्तोषीलाई देब्रे च्याम्प्दै अगाडि जान खोजिन् ।

निकै गलेकी सन्तोषीले चलाखी गरिन् । उनले कवितालाई अगाडि जान दिइन् र आफू तत्काल दायाँतिर गएर दौड अन्त्य गर्ने बेला उछिनेर अगाडि पुगिन् । ०.०१ सेकेण्डले उनी स्वर्ण जित्न सफल भइन् । सन्तोषीले ३५ मिनेट ७ सेकेन्ड र ९४ मिलिसेकेन्डमा दौड पूरा गरेकी थिइन् भने भारतकी कविताले ३५ मिनेट ७ सेकेन्ड र ९५ मिलिसेकेन्डमा ।

सन्तोषीले छिटो निर्णय गर्दै ‘ब्रस्ट पावर’का साथ दौड अन्त्य गरेकै कारण स्वर्ण सम्भव भएको उनका प्रशिक्षक रघु वन्तले बताए । ‘सन्तोषी झण्डै सेकेण्ड भइसकेकी थिइन् तर उनले ब्रास्ट पावरका साथ दौड पूरा गरिन् ।’सागमा एथ्लेटिक्सतर्फ पहिलो पटक स्वर्ण जित्दा सन्तोषी निकै खुसी छिन् ।आफ्नो जितको खुशी उनले गुरु वन्त, दाइ केदार श्रेष्ठलगायतसँग बाँडिन् । ‘मेरा लागि यो मेडलको ठूलो अर्थ छ । यहाँसम्म आउन मैले धेरै त्याग गरेकी छु,’ सन्तोषीले  भनिन् ।‘समयको म त्यति ख्याल गर्दिनँ थिए । १३ वर्षको उमेरदेखि स्कुलस्तरको दौडमा भाग लिन्थेँ । कलेजमा स्नातक सकेपछि फेरि दौडन सुरु गरेको हुँ । सागमा राम्रो गर्छु भन्ने लागेको थियो । तर दौड सुरु गरेको दुई वर्षमा देशलाई स्वर्णनै जिताएर खुसी भएकी छु । जीवनमा एक मिलिसेकेण्डको महत्त्व अहिले आएर बुझेँ,’ धादिङ ज्वालामुखी धाविका सन्तोषीले भनिन् ।

पब्लिक हेल्थ विषयमा स्नातक गरेकी सन्तोषी पढाइ र खेललाई सँगै लैजाँदै छिन् । सागमा पनि उनले बन्द प्रशिक्षण बाहिर बसेर तयारी गरेकी हुन् । उनलाई एथलेटिक्सका पूर्वप्रशिक्षक रघुराज वन्तले अभ्यास गराए । रघुराजको घर गोरखा र सन्तोषीको घर धादिङ । नाताले सन्तोषी रघुराजका फुपुकी नातिनी हुन् । काठमाडौंको पढाइसँगै सन्तोषीको एथलेटिक्समा निखारता ल्याउने काम उनै रघुराजले गरे । उनलाई सागको प्रशिक्षणमा मुख्य प्रशिक्षक चन्द्र गुरुङले पनि सघाएका थिए ।

सन्तोषीले आफूभित्र एथलेटिक्सको दम भएको त्यतिबेला थाहा पाएकी थिइन् । जब उनलले नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच हजार मिटर दौडमा स्वर्ण जितिन् ।

‘सागको पहिलो सहभागितामै स्वर्ण, त्यो पनि नेपाली महिलामा पहिलो जित्दाको खुशीलाई शब्दमा ब्यक्त गर्न सक्दिनँ । तरपनि म यो पदक गरिव र अवसर नपाएका महिलाप्रति समर्पित गर्न चाहन्छु । अवसर पाए भने दुर दराजमा रहेका नेपालका धेरै पिटडिएका महिलाले खेलाडी बनेर देशको नाम राख्नेछन् । मैले पनि अन्जानमै स्वर्ण जितेको हुँ,’ सन्तोषीले भनिन् ।

उनका गुरु रघुराजले सन्तोषीमा असिमित प्रतिभा रहेकोले उनले एसियाली खेलकुदमा समेत पदक ल्याउन सक्ने बताए । सन्तोषीले अवको पहिलो ध्यान कै साग पाँच हजार मिटरको दौडमा रहने बताइन् । त्यसमा पनि उनको लक्ष्य स्वर्णको हुनेछ ।

दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको १५०० मिटर पुरूष दौड प्रतियोगितामा नेपालले कास्य पदक जितेको छ । स्वर्ण र रजत दुवै पदक भने भारतको पोल्टामा परेको छ ।मंगलबार बिहान दशरथ रंगशालामा भएको खेलमा नेपालका टंक कार्कीले कास्य पदक हासिल गरेका हुन् । स्वर्ण पदक भारतका सजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।

तेक्वान्दोमा २ स्वर्ण १ रजत १ कांस्य

१३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।जितपछि उनले भनिन्, ‘यो खुसी म बयान नै गर्न सक्दिनँ । यहाँसम्म आइपुग्न मद्दत गर्ने परिवारका सबै सदस्य र गुरुहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

१३औं साग अन्तर्गत तेक्वान्दोको पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका वीरबहादुर महराले स्वर्ण जितेका हुन् । मंगलबार भएको फाइनलमा उनले पाकिस्तानी खेलाडीलाई ४१–३६ को स्कोरमा हराएका छन् ।आफ्नो योजनाअनुसार खेल्दा सफलता हात लागेको उनले सुनाए । उनले ओलम्पिक क्वालिफायरका लागि अझ मेहनत गरेर तयारी गर्ने महराले बताएका छन् ।

महिला फुटबलमा नेपालको विजयी सुरुवात

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।

महिला भलिबल टोली स्वर्ण जित्नबाट चुक्यो

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको स्वर्ण पदक जित्नबाट नेपाल चुकेको छ। मंगलबार भएको खेलमा नेपाल भारतसंग ३–२ को सेटमा पराजित भयो।

नेपालले अन्तिम सेटमा १५–६ ले पराजित भयो। यो संगै नेपाल रजत पदक मै सीमित भएको छ। यो सँगै भारतले स्वर्णपदक हात पारेको छ। पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–२३ को जित निकाल्दै खेल १–१ को अवस्थामा ल्याएको थियो।

नेपालले तेस्रो सेट २५–२१ ले विजयी बनेको थियो। चौथो सेट नेपालले २५–२०ले गुमाएको थियो। २–२ को अवस्थामा रहेको खेलमा नेपालले अन्तिम सेटमा आत्मविश्वास गुमाएको थियो।कप्तान अरुणा शाहीदेखि सबै खेलाडीहरुले आफूलाई सम्हाल्न सकेनन्, आँसु लुकाउन सकेनन् । यद्यपि सागमा महिला भलिबल टिमले पहिलो पटक रजत पदक जित्दै इतिहास रचेको छ ।

टेबलटेनिसमा नेपाललाई रजत र कास्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबल टेनिसको पुरुष टिममा नेपालले रजत जितेको छ । फाइनलमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भयो ।महिला टिममा नेपालले कास्य जित्यो ।