चौथो दिन: नेपालले जित्यो ६ स्वर्ण ४ रजत ४ कास्य

अनुपमा मगर:डेब्यू सागमा स्वर्ण

कराँतेकी अनुपमा मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । अनुपमाले दिवंगत आमालाई स्वर्ण पदक समर्पण गरेकी छन् । उनको यो पहिलो साग हो । डेब्यू सागमा स्वर्ण सुखद हो । त्यसमाथि एसियन गेम्समा काश्य पदक विजेतालाई हराउन पाउनु अर्को सुखद संयोग रहृयो ।६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् ।

फाइनल खेल्नुअघि उनको भेट श्रीलंकन खेलाडीसँग भयो, जोसँग हालै मात्र बंगलादेशमा भएको पाँचौं साउथ एसियन च्याम्पियनसिपमा फाइनलमा पराजित भएकी थिइन् । सेमिफाइनल जित्न सके स्वर्ण जित्छु भन्ने लागेको थियो । ‘बंगलादेशमा एक अंकले हारेकी थिएँ । त्यसैले डाउट थियो, तर सफल भएँ,’ उनले भनिन् ।

फाइनलमा पाकिस्तानकी खेलाडीसँग भेट भयो । उनीसँग यसअघि कहिल्यै खेलेकी थिइनन् । त्यसमाथि उनी एसियन गेम्सको पदकधारी खेलाडी पनि हुन् । ‘उसँग कहिल्यै खेलेको थिइनँ । कस्तो होला भन्ने थियो’ स्वर्ण जितेपछि खुसी हुँदै उनले भनिन्, ‘सेमिफाइनलमा श्रीलंकनलाई हराएपछि होप त थियो ।’फाइनल आफूले सोचेभन्दा राम्रो भएको उनले सुनाइन् ।

उदयपुरकी अनुपमा एक समय माओवादी सशस्त्र विद्रोहमा सहभागी भएकी थिइन् । बन्दुक बोकेर युद्ध लड्न त गइनन् तर पार्टीले अराए खटाएअनुसार काम गरिन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन माओवादी लडाकुहरुको तर्फबाट बनेको पीएलए क्लबबाट उनले पनि खेलिन् । काश्य पदक पनि जितिन् । त्यसपछि बालाजु डोजोमा ध्रुवविक्रम मल्लको प्रशिक्षणमा हुर्किएकी उनले सातौं र आठौं राष्ट्रिय खेलकुद भने नेपाल पुलिस क्लबबाट खेलिन् । सातौंमा काश्य जितेकी उनले आठौंमा स्वर्ण जितेकी थिइन् । सिद्धार्थ बनस्थली एकेडेमीमा प्रशिक्षकको भूमिकामा समेत रहेकी उनले १३औं सागमा स्वर्ण जित्न सफल भएकी छन् ।आफूलाई परिवार र दाइको सहयोग रहेको भन्दै उनले अघि भनिन्, ‘अबको लक्ष्य भनेको ओलम्पिक हो ।’

 दीपक हमाल:डेब्यू सागमा स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् । उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् । हमालले पहिलो सागमा नै स्वर्ण जितेका हुन् । ‘सागमा स्वर्ण जित्ने सपना आज पूरा भएको छ, एकदमै खुसी लागेको छ’, उनले भनेका छन् ।

हालै मात्र चीनको सा‌ंघाईमा भएको वल्र्ड च्याम्पियनसिपमा उनको प्रदर्शन राम्रो थियो । ५४ सहभागीमध्ये उनी नवौं भएका थिए । ‘यो धेरै वर्षपछि नेपालको राम्रो जिल्ट थियो । त्यसमाथि होम ग्राउण्ड भएकाले गोल्ड जित्छु भन्ने थियो’, उनले सुनाए ।यद्यपि, भारतका साजन लामा अनुभवी खेलाडी भएकोल केही डर लागेको हमाल बताउँछन् । स्वर्णको खुसी मनाउने क्रममा उनले परिवार र गुरुहरुलाई सम्झिए । उनले अघि भने, ‘२०२० डिसेम्बरमा दिल्लीमा एसियन च्याम्पियन हुँदैछ । त्यसमा मेडल छुने धोको छ ।’

साइक्लिङमा नेपालले जित्यो दुई स्वर्ण दुई रजत

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार गोकर्णमा भएको साइकिलिङ डाउनहिल स्पर्धामा पुरुषतर्फ नेपालका राजेश मगरले स्वर्ण पदक जितेका छन् । यसै इभेन्टको महिलातर्फ पनि नेपालकी निष्मा श्रेष्ठले स्वर्ण जितेकी छन् । गोकर्णमा भएको खेलमा पुरुषतर्फ मगरले १ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन्। त्यस्तै निरव श्रेष्ठले १ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका छन्। यस्तै महिलातर्फ श्रेष्ठले स्वर्ण र जमुना थापाले रजत पदक जितेका छन्।

मिक्स ट्रायथोलनमा नेपाल रजत

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मिक्स ट्रायथोलनमा नेपालले रजत पदक जितेको छ । पोखरा लेकसाइडमा भएको खेलमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमा समेटिएको हो । मिक्स ट्रायथोलनमा नेपालका तर्फबाट सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापामगर र बसन्त थारुको समूहले प्रतिस्पर्धा गरेको थियो । खेलमा भारतले स्वर्णमा बाजी मारेको छ भने श्रीलंकाले काश्य पदक जितेको छ ।

दीपकअधिकारीलाई कास्य

१३ औं साग अन्तर्गत बुधबार बिहान दशरथ र‌ंगशालामा भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक हात पारेका छन् ।यस विधाको स्वर्ण पदक भने भारतका सुरेश कुमारले हात पारे भने रजत श्रीलंकाका सानमुगेश्वरनको पोल्टोमा पर्‍यो । भारतीय खेलाडी सुरेशले निर्धारित दुरी २९ मिनेट ३३.६१ सेकेण्डमा पुरा गरेका थिए । यस्तै रजत पदक विजेता श्रीलंकाका खेलाडीले सो दुरी पार गर्न ३० मिनेट ४९.२० सेकेण्ड लगाएका थिए । यस्तै नेपालका धावक अधिकारीले निर्धारित दुरी पार गर्न ३० मिनेट ५०.०६ सेकेण्ड समय लगाएका थिए ।

१०० औं स्वर्ण जित्ने सौभाग्य  सक्षम कार्कीलाई

३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ । सागमा आफ्नो पहिलो र देशको  एक सयौं स्वर्ण दिलाउने खेलाडी रहे सक्षम कार्की । जुर्‍यो ।बधुबार सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।

स्वर्ण जितेपछि देशको झण्डा फर्फराउन पाउँदा छुट्टै खुसी मिलेको उनले सुनाए । ‘सिल्भर ३ पटक भइसेकेका थियो । १०१६ मा (स्वर्ण जित्न) चुकेको थिएँ’, स्वर्ण जितेपछि निकै हर्षित मुद्रामा देखिएका कार्कीले भने, यो मेरो पहिलो गोल्ड हो ।’तेक्वान्दोको क्यारोगीतर्फ यो पटक वीरबहादुर महरा र काजल श्रेष्ठले स्वर्ण जितेका थिए तर निमा गुरुङ, निशा रावलहरु चुकिसकेका थिए । साथीहरु राम्रो खेल्दाखेल्दै पनि स्वर्णमा चुकेपछि आफूले केही गरौं जस्तो भएको उनले सुुनाए ।

उनी स्वर्णको खुसी मनाइरहेका थिए । आफूले सागमा नेपालका लागि १०० औं जितेको थाहा पाएका रहेनछन् । तपाईले जितेको स्वर्ण सागको इतिहासमा १०० औं हो, थाहा छ ? भन्ने प्रश्नमा उनले भने, ओहो ! मलाई थाहै थिएन ।’ उनले हाँस्दै अघि भने, ‘म त भाग्यमानी रहेछु ।’

 तेक्वान्दोमा संगीताले दिलाइन् अर्को स्वर्ण

३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । बुधबार दिउँसो भएको महिला ६२ केजी तौल समूहमा नेपालकी संगीता बस्याल स्वर्ण दिलाएकी हुन् । उनले फाइनलमा भारतकी गगनजोत जिललाई १९-८ ले हराउँदै स्वर्ण जितेकी हुन्।सागमा पहिलो सहभागितामा नै स्वर्ण जित्न सफल हुँदा खुसी लागेको बस्यालले बताइन् । अबको लक्ष्य एसियन गेम्स भएको भन्दै उनले अझ मेहनत गर्ने बाचा गरेकी छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी निशा रावल स्वर्ण जित्न चुकेकी छन् । बुधबार भएको फाइनल स्पर्धामा उनी भारतीय खेलाडीसँग ३२-९ को स्कोरमा पराजित भएकी हुन् । उनले ७३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । महिला ५३ केजी तौलमुनि नेपालकी अस्मिता खड्काले कास्य जितिन् ।

खो खोमा नेपाललाई रजत

१३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत बुधबार भएको खो खो खेलमा नेपालको महिला टोलीले रजत पदक जितेको छ ।
कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हुँदै रजत पदक जितेको हो । नेपाल पहिलो इनिङमा १६–३ ले पछि परेको थियो । महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो ।

लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा नेपाल समूह एको विजेताका रुपमा फाइनलमा पुगेको थियो । नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनमा पुगेको हो । सोही स्पर्धामा बङ्गलादेशले कास्य पदक जित्यो । त्यस्तै पुरुषतर्फको खो खोमा भने नेपालले कास्य पदक जितेको छ ।