पॉचौ दिन: नेपालले जित्यो ७ स्वर्ण, ५ रजत,४ कास्य

तेक्वान्दोमा आज एक स्वर्ण दुई रजत र एक कांस्य 

तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् । बिहीबार ८७ केजीमुनि प्रतिस्पर्धा गरेका उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन् । पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक थियो तर भुपेनले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए ।

त्यसअघि मनिता शाही र अप्सरा कार्की फाइनलमा भारतीय प्रतिद्वन्द्वीसँग पराजित हुँदै रजतमा सिमित भएका थिए । महिला ७३ केजीमुनि तौल समूहमा मनिता मारिया रेगीसँग १५– ० ले पराजित भइन् । त्यसअघि मनिताले श्रीलंकाकी सचिता आर्चाचिगेलाई २९-२ ले हराएकी थिइन् ।

अप्सरा कार्की ६७ केजी मुनि तौल समूहमा फाइनलमा पराजित भएपछि रजतमा सिमित भइन् ।रुचिका भावेसँग ८–५ ले पराजित हुँदै अप्सरा स्वर्णबाट चुकिन् । सेमिफाइनलमा अप्सराले बंगलादेशकी सलमा खातुनलाई पराजित गरेकी थिइन् । त्यसअघि महिला ४९ केजी मुनि तौल समूहमा युनिषा राई सेमिफाइनलमा भारतकी पुर्वा दीक्षितसँग पराजित हुँदै कास्यमा सिमित भएकी थिइन् ।

 पौडीमा गौरीकाले जितिन् ऐतिहासिक स्वर्ण

पौडीमा नेपालकी गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर प्रि–स्टाइल एकल पौडीमा गौरीकाले भारतीय खेलाडीलाई पछि पार्दै ऐतिहासिक जित हात पारेकी हुन्। साग खेलकुदको अहिलेसम्मको इतिहासमा गौरीकाले हात पारेको यो स्वर्ण एकल पौडीतर्फको पहिलो हो।

फ्रिस्टाइल रिलेमा नेपालले कास्य पदक जितेको छ । महिला ४ सय मिटर फ्रिस्टाइल रिलेमा नेपालले कास्य जितेको हो । नेपाली टिममा गौरिका सिंह,अनुशिया तन्डुकार,टिसा शाक्य र डुवना लामा रहेकी थिइन् ।

क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले दिलाइन् स्वर्ण

क्रस-कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छिन्। लक्ष्मी मगरले १ घण्टा २० मिनेट २० सेकेन्डमा लक्ष्य पूरा गरिन्। बिहीबार गोकर्णमा भएको प्रतियोगितामा नेपालकै उषा खनालले सोही खेलमा रजत जितेकी छिन्। उनले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन्।

साइक्लिङ्‍मा नेपालका बुद्धि तामाङले जिते स्वर्ण

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)  अन्तर्गत साइक्लिङ्‍को क्रस कन्ट्री पुरुषमा नेपालका बुद्धि बहादुर तामाङले स्वर्ण जितेका छन्। गोकर्णेश्वरस्थित राष्ट्रिय सहिद पार्कमा बिहीबार नेपालका बुद्धिबहादुर तामाङ स्वर्ण जित्न सफल भएका हुन्। ४ किमीको ४ ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्न सफल भएका हुन्। यस्तै नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन्।

उसुमा नेपालकी निमाले दिलाइन‍् स्वर्ण

उसुमा नेपालकी निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन्। बिहीबार लगनखेलस्थित आर्मीको कभर्डहलमा उसु थाउलो अन्तर्गत महिला नानदावमा १८.९१ अंक ल्याएर स्वर्ण जितेकी हुन्। उसुको पुरुषतर्फ नेपालका विश्व बुडामगरले रजत पदक जितेका छन्। उनले १९.१३ अंक प्राप्त गरेका छन्। उसु थाउलको नानछ्वान गुन्छुमा विश्व बुढामगरले बिहीबार स्वर्णको आशा राखेका थिए।

उसुको थाउलोतर्फको महिला तान्जेन इभेन्टमा नेपालकी मिना ग्लानले रजत पदक जितेकी छिन्। बिहीबार लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको स्पर्धामा उनले १८.४४ अंक पाएकी हुन् । रजतमा चित्त बुझाउनुपरेपछी उनी भावुक बनेकी थिइन् ।

उसुमा जुनी राईले जितिन् स्वर्ण

उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । सान्सौको महिला ५६ केजीमा प्रतिस्पर्धा परेकी जुनी राईले स्वर्ण पदक दिलाएकी हुन् । जुनीले बिहीबार लगनखेलस्थित आर्मी कबर्ड हलमा भएको फाइनलमा श्रीलंकाकी माडुमालीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। तीन राउन्डको प्रतिस्पर्धामा जुनीले सुरूआती दुई राउन्ड नै जितेकी थिइन्।

सञ्जु चौधरी भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला

नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।

गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन् । उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन् । नेपालकी संगीता राईले  प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।