छैटौ दिन: नेपालले जित्यो ५ स्वर्ण,३ रजत,९ कास्य

गौरिकाले जितिन् दोस्रो स्वर्ण पदक

पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद मा दोस्रो स्वर्ण जितेकी छन् । शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.७३ सेकेण्डमा पूरा गरिन् ।  उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् । यसअघिको रेकर्ड पनि उनकै नाममा थियो । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २ मिनेट ४१.२५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

१२ वर्षीय डुआनालाई रजत

 पौडीअन्तर्गत महिला २ सय मिटर ब्रेस्ट स्ट्रोक स्पर्धामा १२ वर्षीय डुआना लामाले रजत पदक जितेकी छिन् । डुआनाले राष्ट्रिय कीर्तिमान समेत कायम गर्दै नेपाललाई रजत पदक दिलाएकी हुन् । डुआनाले २ मिनेट ४४.६८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । त्यसअघि सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा १२ वर्षीय डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै कीर्तिमान भंग गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा राखेको २ मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान सुधार्दै आज २ मिनेट ४८.५७ सेकेन्डमा दुरी पूरा गरिन् ।

५००० मिटर दौडमा नेपाललाई स्वर्ण र कास्य

५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरे । नेपालका हरि रिमालले कास्य जितेका हुन् । ५ हजार मिटर पुरुषमा यो नेपालको पहिलो स्वर्ण हो । यसअघि २००६ मा राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए । तर डोपिङमा परेपछि उनको पदक खोसियो । १३ वर्षअघि नेपालबाट खोसिएको स्वर्ण फेरि फिर्ता ल्याउन सफल हुँदा खुसी छन् गोपीचन्द्र ।

विकासलाई स्वर्ण कमलबहादुर कास्यमा सीमित

पोखरामा भएको भारोत्तोलनमा शुक्रबार अर्को एउटा जोडी चर्चाको विषय बन्यो, जब दुवैजनाले कांस्य पदक जिते। यो जोडी हो कमल अधिकारी र राज्यलक्ष्मी थापाको। १ ६७ केजी समूहमा प्रतिस्पर्धा गरेका उनी तेस्रो भएका हुन् ।  पुरुष ७३ केजी तौल समूहमा नेपालका प्रकाश केसीले पनि कास्य पदक जितेका छन् । राज्यलक्ष्मी अधिकारीले पनि कास्य नै हात पारिन् । उनले ७१ केजी तौल समूह महिला प्रतिस्पर्धामा कास्य  जितेकी हुन् ।

गत सागमा स्वर्ण जितेका कमलबहादुर अधिकारी कास्यमा सीमित भएका बेला विकासले स्वर्ण जितेर भारोत्तोलनलाई राहत दिए। भारतमा भएको अघिल्लो सागमा रजत जितेका भारोत्तोलन खेलाडी विकास थापाले यसपालि स्वर्ण हात पारेका छन् । शुक्रबार दिउँसो पोखरामा उनले ८९ केजी समूहमा स्वर्ण जितेका हुन् । स्न्याच १२३ तर्फ र क्लिन एन्ड जर्कमा १४९ गरी उनले कुल २६९ केजी भार उठाए ।

गल्फको पुरुष टिम इभेन्टमा पनि नेपाललाई स्वर्ण

गल्फमा नेपालका सुवास तामाङले स्वर्ण जितेका छन्। उनी उमेरले १७ वर्षका मात्रै छ। सुवासले व्यक्तिगत र टिम इभेन्टमा गरी दुई स्वर्ण जितेका हुन्। गोकर्ण गल्फ क्लबमा शुक्रबार बंगलादेशका खेलाडीलाई व्यक्तिगत रुपमा पछि पार्दै सुवासले स्वर्ण जितेका हुन्।  व्यक्तिगत तर्फ नेपालका शुक्रबाहदुर राईले कांस्य जिते । पुरुषको टिम इभेन्टतर्फ भने सुवाससहित टंकबहादुर कार्की, शुक्रबहादुर राई र निरज तामाङ रहेका छन्।

कुस्तीमा नेपाललाई एक रजत र तीन कास्य

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि जनकपुरधाममा शुरु भएको कुस्ती प्रतियोगितामा  पहिलो दिन  नेपालले एक रजत र तीन कास्य पदक जितेको छ । नेपालकी शिबानी दुबेले रजत  मनिषा सिंह , नरेश यादवले कास्य पदक हात पारेका छन् ।

पुरुषोत्तम र स्यान्टुले राखे कीर्तिमान , स्यान्टुको चार पदक

टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ । सोमबारदेखि लैनचौरस्थित टिटिहलमा भएको प्रतियोपगितामा नेपालले पुरुष टिम इभेन्टमा रजत, महिला टिम इभेन्टमा कास्य, पुरुष सिंगल्समा पुरुषतर्फ स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक हात पारेका हुन् ।  टेबलटेनिसको साग इतिहासमा सिगल्सतर्फ पहिलो पटक पदक जितेका हुन् ।

सागमा नेपाल टेबलटेनिसले पुरुष टिम इभेन्टमा जितेको रजत पदक पनि ऐतिहासिक बन्यो । शिव सुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ टिममा रहेको नेपाल पहिलो पटक टिम इभेन्टको फाइनलमा पुगेको थियो । चौथो पदक महिला टिम इभेन्ट्समा नेपालले कास्य जितेको थियो । नविता श्रेष्ठ, रविना महर्जन र सिक्का सुवाल टोलीमा रहेको टिमले कास्य जितेको थियो । महिलातर्फ सिंगल्समा भारतले स्वर्ण र रजत जितेको छ भने श्रीलंकाले दुई कास्य जितेको हो ।