सातौ दिन:नेपालले जित्यो २ स्वर्ण,५ रजत १३ कास्य

किरण सिंह बोगटीले म्याराथनमा जिते स्वर्ण

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । कैलाली घर भएका उनी एपिएफमा आवद्ध छन् । निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उनले स्वर्ण जितेका हुन् । भारतका रासपाल सिंहलाई ४० सेकेण्डले पछि पार्दै उनले स्वर्ण हात पारेका हुन् ।

महिला म्याराथनमा नेपाललाई पहिलो पदक दिलाउन सफल

पुष्पा भण्डारीले दक्षिण एसियाली खेलकुदको म्याराथनमा नेपाललाई पहिलो पदक दिलाउन सफल भएकी छन् । १३औं साग अन्तर्गत शनिबार भएको म्याराथनमा पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजत पदक जितेकी हुन् । यो सागको महिला म्याराथनमा नेपालले जितेको एक मात्र पदक हो ।

सागमा २०१६ मा भारतमा भएको १२औं संस्करणबाट मात्र महिला म्याराथन समावेश गरिएको थियो । नेपालबाट पुष्पाले नै भाग लिएकी थिइन् तर दौड नै पुरा गर्न सकेकी थिइनन् । ३५ किलोमिटरमा नै दौड छाडेकी थिइन् । ‘अहिले जसरी भएपनि पुरा गर्छु र एउटा मेडल ल्याउँछु भनेर सोचेको थिएँ ।  सफल भएँ, खुसी छु’, रजत विजेता पुष्पाले खुसी साटिन् ।

लडेर जसले कास्य जिते सोमबहादुरले

सोमबहादुर कुमाल ८ सय मिटरको दौडमा देशलाई स्वर्ण दिलाउन चाहन्थे । शनिबार दशरथ रंगशालमा भएको दौडमा उनी प्रतिस्पर्धीलाई पछि पार्न दौडिरहेका थिए । तर लक्ष्यमा पुग्ने बेला अचानक ट्रयाकमा लडे । उनी ट्रयाकमै लड्दा उनको हातले लाइन छोयो । हातले लाइनमा छोएकै कारण उनले लडेर पनि कास्य जिते । उनी लडेपछि अन्य दुई प्रतिस्पर्धीले स्वर्ण र रजत जिते  । लड्दा सोमबहादुरले निर्धारित रेखा छोएपछि अन्य प्रतिस्पर्धीलाई पछि पार्दै कास्य जितेका हुन् ।

कुस्तीमा नेपालकी संगितालाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल प्रतियोगितामा  नेपालकी संगिता धामीले स्वर्ण पदक जितेकी छन् । शनिबार जनकपुरमा भएका ५५ केजी तौल समूहमा भएको खेलमा धामीले बंगलादेशकी सकिरा रेनीलाई ५–१ ले पराजित गरिन् ।

फेन्सिङमा रजत र कांस्य

नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन् । फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन् । उनले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गर्दै उपाधि नजिक पुगेकी थिइन् ।

अस्मितासँगै भारतकी डायनादेवी थिङ्गुजामले कांस्यमा चित्त बुझाए ।महिला इपीमा भने नेपाली खेलाडी सेमिफाइनलमै स्तब्ध बने । नेपालका जानुका स्याङ्तान र इन्दिरा पौडेल सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि काँस्यमै चित्त बुझाउन बाध्य भए ।

भारतीय खेलाडीसँग १ सेकेण्डले पछि पर्दा गौरिका स्वर्णबाट चुकिन्

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंह स्वर्ण जित्नबाट चुकेकी छिन्। पौडीबाज गौरिका सय मिटर ब्याकस्टोकमा रजतमा चित्त बुझाउन बाध्य भएकी हुन्। गौरिकाले निर्धारित दूरी १ मिनेट ०३.१५ सेकेण्डमा निर्धारित दूरी पौडिइन्। स्वर्ण जितेकी भारतकी  मन्ना राजिव पटेलले १ मिनेट ०२.३६ सेकेण्ड पौडिएकी थिइन्।

गौरिकाले शुक्रबार पटेललाई नै पछि पारेर ब्याकस्टोक स्वर्ण जितेकी थिइन्। योसँगै गौरिकाले जारी सागमा चौथो पदक जितेकी छिन्। गौरिकाले यसअघि २ सय मिटर फ्रीस्टायल र २ सय मिटर ब्याटस्टोक स्वर्ण जितेकी थिइन् भने  ४०० मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन्।

भारोत्तोलन : नेपाललाई थप २ रजत र ४ कास्य

१३ औं साग भारोत्तोलन अन्तर्गत नेपालले तेस्रो दिन शनिबार २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ । योसँगै जारी संस्करणमा नेपालको पदक संख्या २ स्वर्ण, २ रजत र १० कास्य पुगेको छ। पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान कास्य जितेका छन् ।

पोखरामा शनिबार भएको प्रतियोगितामा नेपालकी अस्मिता राई (८७ प्लस) र विशालसिंह विष्ट (९६ केजी) तौल समूहमा रजत पदक जितेका हुन्। रजत दिलाउने नेपाली खेलाडी विष्टले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २४७ भार बहन गरे । १९ वर्षे विष्ट कञ्चनपुरका हुन् । चार वर्षदेखि भारोत्तोलन खेल्दै आएको बताउने उनले रजत दिलाउन सकेकोमा खुसी लागेको प्रतिक्रिया दिए ।

नेपालको तर्फबाट नेपाली सेनाकी अस्मिता राईले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२५ तौल भार बहन गर्दै रजत दिलाउन सफल भएकी हुन् । महिला ८७ तौल समूहमा  नेपालले कास्य जित्यो ।  नेपालकी मनकुमारी कुमालले ६०, ७६ गरी कुल १३६ तौल उठाउँदै कास्य जितेका हुन् । तनहुँकी कुमालले आठौं राष्टिय खेलकुदमा रजत जितेकी थिइन् ।

पुरुष १०२ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जिते । नेपालका सन्देशले स्न्याचमा १०० र क्लीन एण्ड जर्कमा १३५ सहित कुल २३५ उठाउँदै कास्य पदक दिलाएका हुन् । चितवन निवासी सन्देश नेपाल प्रहरीमा आबद्ध छन् । उनी आठौं राष्टिय खेलकुद प्रतियोगिताका स्वर्णधारी हुन् ।

शनिबार बिहान भएको खेलमा नेपालकी तारादेवी पुनले ७६ केजी तौल समूह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्य पदक जितेका छन् ।१२ औं सागमा समेत कास्य जितेकी नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ९७ गरी कुल १७२ तौल उठाएकी हुन् ।७६ केजी तौल समूहमा  नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० तौल उठाउँदै कास्य दिलाउन सफल भएकी हुन् ।

टेनिसमा नेपाल पाँच कास्यमा सीमित

दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसमा नेपालले पाँच वटा कास्य पदक जितेको छ। सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज भएका तीनवटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी कास्यमा सिमित बनेका हुन्। यसअघि नेपालले टिम इभेन्टको महिला र पुरुषतर्फको विधामा कास्य पदक जितेको थियो । आज भएको महिला सिंगल्सको सेमिफाइनलमा प्रेरणा दोस्रो वरियताकी भारतीय खेलाडी सत्विका समासँग ६–० र ६–० ले पराजित भइन्।

महिला डबल्समा नेपालका दुई जोडी सेमिफाइनलमा पराजित भए। प्रेरणा कोइराला र सलोनी तामाङको जोडी भारतका श्रब्या शिभानी चिलकलापुडीसँग ६–४ र ६–३ को सेटमा पराजित हुँदै कास्यमै सिमित बने। अर्को सेमिफाइनलमा अभिलाष विष्ट र आइरा मेहेमिसा रावतको जोडी भारतका प्रेरणा भाम्ब्री र प्रार्थना गुलाबराओ थोम्ब्रेको जोडीसँग ६–० र ६–० ले हारे।

शनिबारको घमाइलो दिन प्रेरणा कोइरालाको स्मरणमा सधैं ताजा रहनेछ । सातदोबाटोस्थित टेनिस संघको कोर्टमा उनले महिला एकल, मिक्स डबल्स र महिला डबल्समा गरी तीन कांस्य पदक हात पारिन् । नेपाललाई ऐतिहासिक पदक दिलाउँदा दक्षिण एसियाली खेलकुदमा लनटेनिसतर्फ महिला एकलमा पदक जित्ने पहिलो खेलाडीमा दरिइन् प्रेरणा । उनले आफूले जितेका पदक सम्पूर्ण प्रशिक्षक र परिवारलाई समर्पण गर्न चाहेको बताएकी छन् ।

 

महिला क्रिकेटमा नेपाललाई कास्य

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ। पोखरा रंगशालामा शनिबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्समाथि १० विकेटको जित निकाल्दै नेपालले कास्य पदक प्राप्त गरेको हो।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सले ११.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८ रन जोडेको थियो।माल्दिभ्सको ब्याटिङमा ऐमा ऐसाथले १ रन जोडिन्। माल्दिभ्सका बाँकी सबै खेलाडी शून्यमै आउट भए।

नेपालले अतिरिक्त ७ रन दिएको थियो। नेपालको तर्फबाट अञ्जली चन्दले ४ ओभरमा ३ मेडनसहित १ रन खर्चिएर ४ विकेट लिइन्। त्यस्तै, सीता रानामगर र रुविना क्षेत्रीले समान दुई दुई विकेट लिए। सुमन खतिवडा र करुणा भण्डारीले पनि एक एक विकेट बाँडे।

जितका लागि ९ रनको लक्ष्य पछ्याएको नेपालले विनाविकेट नोक्सानीमा १.१ ओभरमा जित हासिल गरेको हो। नेपालको व्याटिङमा रोमा थापाले अविजित ४ तथा काजोल श्रेष्ठले अविजित २ रन बनाए। खेलमा ४ विकेट लिन सफल नेपाली बलर अञ्जली चन्द प्लेयर अफ द म्याच भइन्।

जितपछि प्रतिक्रिया दिँदै नेपाली प्रशिक्षक जगतबहादुर टमटाले समग्रमा प्रतियोगिताभर नेपालले चित्त बुझ्दो प्रदर्शनी गरेको बताए। बंगलादेश, श्रीलंका जस्ता टेष्ट राष्ट्रहरूसँग समेत नेपालले बराबरीको प्रतिस्पर्धा गर्न सफल भएको उनले दाबी गरे। यद्यपी लक्ष्य स्वर्ण नै भए पनि कास्य पदकमा चित्त बुझाएका खेलाडीले संयमित र अनुशासितपूर्वक खेल प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे।