मनाङको विजयी जाउलाखेल थ्रीस्टार बराबरीमा

मनाङको विजयी सुरुवात

विमल रानाको दुई  गोलको सहयोगमा साविक विजेता मनाङ मर्स्याङदी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । लिग अन्तर्गत बुधबार भएको खेलमा मनाङले विभागीय टोली एपीएफलाई  २-० ले पराजित गरेको हो । गत वर्ष लिग जित्दाका कप्तान वराज महर्जनसहित पहिलो रोजाईका अधिकांश खेलाडीले यो सिजन क्लब छाडे पनि मनाङले पहिलो खेल जित्दै ३ अंक जोडेको छ । सुजल श्रेष्ठ, हेमन गुरुङ, विशाल राईले क्बल छाड्नु अनि अन्जन विष्ट निलम्बनमा पर्दा मनाङको फरवार्ड लाइन विमल राना र यसै सिजन थ्री स्टारबाट क्लब भित्रिएका रन्जन विष्टले सम्हालेका थिए ।

विमल राना गत सिजन मनाङमा दोस्रो रोजाइका खेलाडी थिए । उनै विमलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २८ औं मिनेटमा जगजित श्रेष्ठले मिलाइदिएको क्रसमा हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि उनले विदेशी खेलाडी लार्बा फ्लोरेन्टको पासमा पेनाल्टी बक्स नजिकैबाट गोल गरे । दोस्रो हाफमा दुवै टोलीले कुनै गोल गर्न नसक्दा मनाङ २-० ले विजयी भयो । मनाङमा वर्तमान राष्ट्रिय  टिमका कुनै खेलाडी छैनन् । मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले लक्ष्‍यअनुसार नै खेल जितेर ३ अंक जोड्न सफल भएको प्रतिक्रिया दिए । एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले अनुभवको कमी  र राम्रो फरवार्ड नहुँदा प्रदर्शन कमजोर भएको बताए ।

जाउलाखेलले थ्रीस्टारलाई बराबरीमा रोक्यो

शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले थ्रीस्टारलाई बराबरीमा रोकेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टार र जाउलाखेलले गोलसहित बराबरी खेलेको हो । दुबै टोलीले केही राम्रा अवसर पाएका थिए, तर गोल गर्न सकेनन् । थ्रीस्टारका विजय भुजेलले गोलकिपर विट भइसकेको अवस्थामा समेत गोल गर्न चुकेका थिए । बराबरीपछि दुवै टोलीले समान १ अंक जोडेका छन् । लिगको दावोदार टोली थ्रीस्टारलाई यस बराबरी निकै महंगो हुने देखिएको छ । अघिल्लो सिजन थ्रीस्टार तेस्रो भएको थियो ।