टोकियो ओलम्पिक स्टेडियम उद्घाटन

जापानको टोकियोमा आइतबार नेसनल स्टेडियम उद्घाटन भयो जुन सन् २०२० मा हुने ओलम्पिकका लागि हो। स्टेडियम उद्घाटन समारोहमा जापानी प्रधानमन्त्री शिन्जो आबे र चर्चित आर्किटेक्ट केंगो कुमाको उपस्थिति थियो।आर्किटेक्ट कुमाले नै यो स्टेडियम डिजाइन गरेका हुन्। करिब १ अर्ब ४० करोड डलरमा बनेको यो स्टेडियममा ६८ हजार सिट छन्। आगामी ओलम्पिक उद्घाटन र समापन दुवै समारोह यहाँ हुनेछन्। अपांगता भएका व्यक्तिहरूको सहभागिता रहने पाराओलम्पिक पनि यहीँ हुनेछ। यो स्टेडियममा फुटबल र ट्रयाक तथा मैदानमा हुने थुप्रै खेल हुनेछन्।

आर्किटेक्ट कुमा आफ्ना काममा प्राकृतिक सामग्रीका लागि चर्चित छन्। उनले यो स्टेडियममा परम्परागत जापानी आर्किटेक्चर र वातावारणको मिश्रण गरेको बताएका छन्। स्टेडियमका लागि ७० हजार क्युबिक फिटभन्दा बढी काठ प्रयोग भएको छ, जुन जापानका ४७ वटा भागबाट ल्याइएको हो।

‘ओलम्पिक भनेको युगकै चिह्न हो। हामीले यसलाई मान्छेको ध्यान खिच्ने र पृथ्वीको हालको अवस्था देखाउने गरी तयार गरेका छौं,’ ६५ वर्षीय कुमाले अन्तर्वार्तामा भनका छन्, ‘यो युगका लागि काठ नै सबभन्दा उपयुक्त सामग्री हुन्छ भन्ने हामीले सोचेका हौं।’आइतबार स्टेडियम उद्घाटन कार्यक्रममा प्रधानमन्त्री अबेले डिजाइनको तारिफ गर्दै वातावरण र जापानको विशेषता झल्काएको बताए। स्टेडियम क्षेत्रमा ४७ हजारभन्दा बढी रूखबिरूवा रोपिएका छन्।