नेपाली भाषाको दोस्रो तथा नेपालमा बनेको पहिलो चलचित्रकी नायिका भुवन चन्द अहिले पनि चलचित्र यात्रामा संक्रिय छिन् । अभिनयमा उनको उपस्थिती जारी छ । उत्साहपुर्वक उनको जीवन चलिनै रहेको छ । नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्रकी नायिका पासांग ल्हामु तामांग पहिलो नायिका भएता पनि उनी भारतिय नागरिक भएकाले पहिलो नेपाली नायिका बन्ने सौभाग्य भुवन चन्दले पाईन । नेपालमा नै बनेको पहिलो सिनेमा ‘आमा’बाट उनी नेपाली सिने नगरीमा पाइला टेकिन् ।
जतिबेला कलाकारितालाई कसैले बुझ्दैनथ्यो । कला क्षेत्र बामे सर्दै गरेको अवस्थामा कलाकारितामा समर्पित हुनु चानचुने थिएन । भुवन यस्ती भाग्यमानी कलाकार हुन्, जसलाई कलाकार बन्नमा आफ्नै परिवारको साथ जुट्यो । त्यसमा पनि महिला । जब त्यसबेला पुरुषलाई नै महिलाको भेषमा पर्दामा उतार्ने काम हुन्थ्यो । कला क्षेत्रलाई अहिले पनि सम्मानजनक रूपमा हेर्ने अवस्था छैन।अझ त्यो बेलाको कुरा सम्झिँदा पनि बुझ्न सकिन्छ । त्यतिबेला कतिपय व्यक्ति परिवार र समाजको असहयोगका कारण कलाकार बन्ने इच्छा इच्छामा नै सीमित हुन्थे । तथापि उनको हकमा भने यो कुरा लागू भएन । कारण उनका पिताले नै उनलाई कलाकार बन्न प्रेरणा दिए ।
वि.सं. २००६ साल असार १ गते काठमाण्डौको धोवीचौरमा पिता उस्ताद भैरवबहादुर थापा र माता गुजेश्वरी थापाको सन्तानका रुपमा जन्मिएकी भुवनको कला यात्रा सानै उमेरबाट शुरु भयो । बाबु गायक भएका कारण ठूला व्यक्तिहरुसँग संगत गर्न गाह्रो भएन उनलाई । न त रेडियो नेपाल नै नौलो लाग्यो ।
भुवनका बुबा भैरव बहादुर थापा आफैं कलाकार थिए । त्योबेला पनि नाटक हुन्थे। तर, कलाकार पाउन गाह्रो थियो । २०१० सालमा बालकृष्ण समको नाटक ’अन्धवेग’ मञ्चन गर्ने तयारी भयो । सबै कलाकारहरु तयार भए । तर, एक सानो छोरीको भूमिकामा अभिनय गर्ने कलाकार भेटिएन । त्यही समयमा भैरवले आफ्नी छोरीलाई खेलाउने प्रस्ताव राखे । सबैले स्विकारे पनि । उनले १० वर्षको उमेरमै ‘अन्धवेग’ नाटकमा अभिनय गरेकी थिइन् । २०१० सालबाट रंगमञ्चमा रमाउन थालेकी उनी त्यसैमा सन्तुष्ट थिइन् ।अभिनय गर्न नै जन्मिएकी रहेछु भन्ने लागेर उनी पनि नाटकतिर लागिन ।
उनको अभिनय यात्रा यहीँबाट सुरु भयो । एक पछि अर्को नाटकमा विभिन्न भूमिका निर्वाह गरिन् । उनका साथीहरूको एउटा सानो समूह थियो कलाकार बन्ने । त्यो बेला कलाकार बन्न धेरै गाह्रो थियो । कलाकार बनेको मान्छेलाई हेय दृष्टिले हेर्ने गरिन्थ्यो। महिला कलाकारलाई झनै गाह्रो हुने त्यस्तो बेलामा उनले कलाकार, समाजसँग धेरै संघर्ष गर्नुपर्यो । सरकारले कला भन्ने चिज चाहिने रहेछ भनेर नाट्य परिषद् र कला केन्द्र लगायत संस्था खोलेपछि उनी पनि त्यस संस्थामा आबद्ध भइन् ।
कला केन्द्रमा आबद्ध भएपछि उनले थुप्रै नाटकमा काम गरिन् । नाटकसंगै भुवन गायनमा पनि संक्रिय रहिन् । भुवनले २०१८-२०१९ सालतिर गीत गाउन थालेकी थिइन् । भुवनलाई स्वर्गीय गायक भैरव बहादुर थापा गायिका बनाउन चाहन्थे । त्यसैले उनले लोक गीत, राष्ट्रिय गरी ३०-४० वटा गीतमा आवाज भरेकी थिइन् । रेडियो नेपालमा आफ्नै पिताको साथी गायक शिवशङ्कर मानन्धरको औंला समातेर भुवन चन्द जाने गर्थिन् ।
यसैबीच ०१८ सालमा राष्ट्रिय नाचघरको स्थापना भएपछि उही वर्ष उनी नाचघरमा जागिरे भइन । नाचघरको पुरातत्व विभाग अन्तर्गत काम गर्न थालेकी भुवन २०३३ सालमा स्थायी भइन् । उनी २०६२ सालमा प्रथम श्रेणीकी अधिकृत भएर सेवानिवृत्त भएकी हुन्।
नेपालमा पनि चलचित्र बन्ला र आफू नायिका बनौला भनेर भुवन चन्दले सोचेकी थिइनन् । विदेशी चलचित्रहरु हेर्दा उनलाई पनि नायिका बन्ने मोह नजाग्ने होइन । तर, त्यो पूरा होला भन्ने आश उनीमा थिएन । जब भुवनले ‘आमा’ नामक चलचित्र बन्दैछ भन्ने सुनिन्, खुसीको सिमा नै रहेन । सो चलचित्रका लागि रंगमञ्चमा काम गरिरहेका कलाकारलाई अडिसनको लागि बोलाइयो । उनी फुरुंग हुँदै गइन् । उनी अन्तर्वार्ता दिन गईन् । अन्तर्वार्तामा उनलाई डाइलग भन्न लगाइयो । त्यो बेला कलाकार नै कम । कलाकार पाउन एकदमै गाह्रो थियो। जो–जो अडिसनमा गए ,सबै नै अनुबन्धित भए ।
नायिका बन्दैछु भन्ने कुरा उनलाई चलचित्रका नायक शिवशंकर मानन्धरसँग गीतको लागि अभिनय गर्दा मात्रै थाहा भयो । उनले गायक मानन्धर र गायिका तारादेवीको स्वरमा सजिएको गीतमा अभिनय गर्दा पो सोचिन्, ‘मैले हेरेको चलचित्रका गीतमा त नायिकाले पो अभिनय गर्थे । तर, यहाँ म पनि नाच्दै छु । के म पनि नायिका भएँ त ?’
चलचित्र आमामा नायिकाको भूमिका निभाउँदा उनको उमेर मात्र १५ वर्षको थियो । ०२२ साल असोज ५ गते चलचित्र ‘आमा’को सार्वजनिक प्रदर्शन रञ्जना हलमा गरिएको थियो। जतिखेर उनी सरकारको तर्फबाट कल्चर रिलेशनका लागि चीन गएकी थिइन् । चीनबाट नेपाल फर्किए पछि राजा महेन्द्रले ‘हाम्री भुवन भारतीय नायिका भन्दा कम रहेनछिन’ भन्दै उनको प्रशंसा गरे । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ बाट उनले फिल्म क्षेत्रमा आफूलाई चिनाएकी थिइन् ।
फिल्म रिलिज भएपछि आफूलाई पहिलो चोटि पर्दामा देख्दा ‘ए म राम्रै नै रहेछु’ भन्ने लाग्यो उनलाई । पहिलो फिल्म ‘आमा’ मा काम गर्दा पारिश्रमिक पाइनन् । त्योबेला कलाकारलाई एउटा विभागबाट अर्को विभागमा सरुवा गरेर एक महिनाको निम्ति काजमा पठाइयो। उनले त्यसबेला डेढ सय रुपैयाँ तलब पाउँथिन्। त्यही तलबमा उनले ‘आमा’ फिल्ममा काम गरिन्। त्यसबेला पैसा चहिन्छ भन्ने आवाज पनि कतैबाट उठेन ।
‘आमा’ फिल्म बनेको अर्को वर्षपछि ‘हिजो आज भोलि’ फिल्म बन्यो। त्यसमा पनि उनले मुख्य भूमिका पाइन् । फिल्म राणा सरकारले के गर्यो भन्नेबारे बनाइएको थियो। उनले हीरा सिंह खत्रीकै निर्देशनमा ‘हिजो आज र भोली’मा पनि अभिनय गरिन् । दोस्रो फिल्मबाट भने उनले पारिश्रमिक पाइन्। उनीसंग फिल्ममा चार हजार रुपैयाँमा सम्झौता भएको थियो । उनको अभिनयको चर्चा चल्यो । त्यसपश्चात निक्कै लामो समय यिनी सिनेमाको पर्दामा देखापरिनन । फिल्म नबनेकाले उनी फेरि नाटकमै व्यस्त भइन ।
एकैपटक बि.सं. २०४९ सालमा तुलसी घिमिरे निर्देशित चलचित्र दुई थोपा आशुमा देखापरिन । २५ वर्ष पछि पुन चलचित्रमा फर्किएकी यिनी यति लामो समय हराउनुको मुल कारण स्वदेशमा अत्यन्त कम चलचित्र बन्नु , धरायसी कामकाज र जागिरतिरै यिनको संक्रियताले गर्दा हो । त्यसबेला उनको भूमिका हिरोइनबाट क्यारेक्टर रोलमा झरिसकेको थियो । बि.सं.२०५० यता भने यिनले अभिनयलाई निरन्तरता दिएको देखिन्छ ।
माहामाया,जन्मजन्म,सीमारेखा,सुरक्षा,चाँदनी,नेपाली बाबु, मनमन्दिर, नाम के हो , दुलाहाराजा दुलहीरानी,जीवनसाथी, देउराली, प्रेम प्रतिज्ञाजस्ता चलचित्रमा यिनी देखापरिन । त्यसपश्चात पुन यिनको संक्रियता टुट्यो । करिव १४ वर्षको अन्तराल पछि फेरि ‘तिन धुम्ती’मा देखापरिन । त्यसपश्चात प्रेमगीत-२, मेरी मामु, साईनो र सेल्फ़ी किंगमा अभिनय गरिन ।
बि.सं. २०२१ सालबाट प्रारम्भ भएको ५६ वर्षिय सिनेयात्रामा कुल १९ चलचित्रमा देखापरेकी भुवनले टेलिचलचित्रहरुमा पनि अभिनय गरेकी थिईन । उनी चलचित्रसँगै टेलिचलचित्रहरुमा समेत रुचाइएकी अभिनेत्री हुन् । राजमार्ग, जीवनचक्र, दूधपोखरी, हिजोआजका कुरा जस्ता टेलिचलचित्रमा उनले अभिनय गरेकी छिन् । यति लामो सिनेयात्रा तय गरेपछि यिनले आफ्नै निर्माणमा चलचित्र साईनो पनि बनाईन । तर चलचित्र आशा गरिए अनुसार सफल भएन । निर्माणको अनुभव चाहि संगाल्न पाईन ।
भुवन कलाकारिता क्षेत्रमा आफ्नो परिचय स्थापित गर्न काठमाडौमै संघर्षरत थिइन् । सुदूर पश्चिमको बैतडीबाट माइकल चन्द काठमाडौं छिरेका थिए । दुवै जनाको पहिलो भेट राष्ट्रिय नाचघरमा भयो । माइकल त्यहाँ अंग्रेजी उद्घोषक थिए,भने भुवन त्यही जाँगीरे । भुवनको हिडाइ माइकललाई धेरै मन पथ्र्यो । भुवनको हिडाईले असाध्यै प्रभावित भइसकेका माइकल भुवनप्रति आकर्षित हुन थाले । यद्यपि फिल्मी पर्दामा स्थापित हुँदै गरेकी भुवनसँग नाता जोड्न सकिएला भन्ने कल्पना समेत गरेका थिएनन माइकलले ।
भुवनलाई उनले पहिलो पटक २०२१ सालमा निर्मित ‘आमा’ फिल्मको पर्दामा देखेका थिए । कल्पना नगरेको कुरा बिपना बनि दियो माइकलको जीवनमा । उनले भुवनलाई प्रेममा पार्न सफल भए । भुवनलाई बिहेमा त्यति दिलचस्पी थिएन । उनको प्राथमिकतामा बिहेभन्दा पनि घरको ज़िम्मेवारी थियो । तर माईकलसंगको भेटले उनको सोच परिवर्तन भयो । माईकलको प्रेम सहि लाग्यो उनलाई ।
त्यसबेला एकअर्कोसँग प्रपोज गर्ने, भेट्ने, डिनर जाने जमाना थिएन । माइकलले चार वर्षपछि बिहे गर्ने प्रस्तावलाई भुवनले मानिन् । यही सहमति नै त्यो जोडीको अन्तिम सम्झौता बन्यो । दुईजनाको प्रेम सम्बन्ध वि.स २०३३ मंसिरमा वैवाहिक सम्बन्धमा जोडियोे । त्यसबेला दुवै जना २४ वर्षका थिए । भुवनलाई माइकलले आफू बस्ने कोठामै भित्र्याए । बिहे गरेको भोली पल्ट नै उनीहरू छुट्टिनु पर्यो काम बिशेषले । बिहे गरेको भोलीपल्ट भुवन साँस्कृतिक कार्यक्रमका लागि रसिया गईन् । माइकल पर्सीपल्ट जर्मन गए । त्यसपछि बिहे गरेकोे ३ महिनापछि मात्रै उनीहरूको भेट भयो, त्यो भेट पनि जर्मनीमा ।
उतिबेलाका महिलाले बिहेपछि एउटा भूमिकालाई मात्र निरन्तरता दिनुपर्ने बाध्यता हुन्थ्यो । बिहे पछिको उनीहरूको जीवन घर भित्रै बित्थ्यो । तर भुवनले पारिवारिक र व्यवसायिक दुवै भूमिकामा निरन्तर साथ दिने श्रीमान पाईन। कलाकारिता क्षेत्रमा लागेपछि पढाइ बीचमा नै छाड्नु परेता पनि उनको प्रगति रोकिएन । मायालु पतिको साथमा आफ्नो कार्य पथमा लागिरहिन । भुवन चन्दको जीवन निकै सुखदायी र आनन्ददायी बितिरहेको छ । तीन छोरी अमेरिकामा छन् भने उनी पति माइकल चन्दसँग काठमाडौंमा बस्दै आएकी छिन् ।
संख्यात्मक रुपमा अति कम चलचित्रमा देखापरे पनि भुवन नेपाली नायिकाहरु मध्ये सधै चर्चामा रहने गरि परिचित छिन् । उनी देखापरेका फ़िल्म एकाध बाहेक त्यति सफल ठहरिएनन् । तैपनि भुवन भने विशेष छिन् । यसो हुनुको पछाडी उनको योगदान नै बिशेष भएर हो । उनी अझै पनि अभिनयमा नै रमाउन चाहान्छिन् । उनको पथ पच्छाउने धेरै छन् । चलचित्रले दिएको परिचयमा उनी प्रफुल्ल छिन् ।