मनाङ बराबरीमा रोकिँदा मछिन्द्र शीर्ष स्थानमा

अघिल्लो सिजनका अधिकांश स्टार खेलाडी बाहिरिनुका बाबजुद उपाधि रक्षा अभियान जबर्जस्त सुरु गरेको मनाङ मर्स्याङ्दी क्लबले शनिबार कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा कमजोर प्रतिद्वन्द्वी हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीले मनाङलाई लिगको तेस्रो स्थानमा पुर्‍याएको छ । टोलीको लगातार उपाधि जित्ने लक्ष्यमा यो नतिजाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । छैटौं चरणसम्म मनाङ अपराजित त छ । तर ३ जित र ३ बराबरीले टोलीसँग १२ अंकमात्र छ ।

एक खेल कम खेलेको आर्मी समान अंकसहित दोस्रो स्थानमा छ । अघिल्लो सिजनको कारबाहीस्वरुप १ अंक गुमाएको मछिन्द्र १३ अंकसहित शीर्षस्थानमा पुगेको छ । छैटौं चरणसम्म मछिन्द्र पनि अपराजित छ ।प्रतिस्पर्धात्मक खेलमा मनाङ अन्तिम १५ मिनेट १० खेलाडीमा समेटिए पनि हिमालयनले त्यसको फाइदा उठाउन सकेन । दुवै टिमबाट गोलका आधा दर्जनभन्दा बढी अवसर उपयोग हुन सकेन । लिगमा हिमालयन र मनाङ दुवैको लगातार दोस्रो बराबरी नतिजा हो ।

मछिन्द्रसँग अघिल्लो खेलमा हात हालाहालमा उत्रिएका खेलाडीहरू कारबाहीमा परेपछि मनाङ आफैंमा कमजोर बनिसकेको थियो । नियमित टिमका जगजित श्रेष्ठ र रन्जन विष्टको अभावमा रहेको मनाङविरुद्ध हिमालयनका विदेशी खेलाडीको प्रदर्शन निर्णायक थियो । ‘मुख्य खेलाडी कारबाहीमा परेपछि हाम्रो टिम केही कमजोर बनेकै हो । खेलमा हामी आक्रामक हुन ढिला भयो । त्यसैको नतिजा बेहोर्नुपर्‍यो,’ रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिएका मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने, ‘मनाङले जहिल्यै पनि ११ भर्सेस १५ खेल्नुपर्छ । त्यसकारण अघिल्ला खेलमा जस्तै आज पनि हामीलाई गाह्रो भयो ।’प्रशिक्षक प्रजापतिले गम्भीर आरोप लगाए पनि रेफ्रीको कुन निर्णयप्रति असन्तुष्टि हो भन्ने प्रश्नको ठोष जवाफ दिन सकेनन् ।
‘उनले स्वीकारेका छन् कि उपाधि रक्षाको अभियानमा रहेको उनको टोलीलाई भावी दिन सहज हुने छैनन् । ‘हामीले यो खेल जित्नैपर्ने थियो । लिगमा अहिलेसम्म ३ बराबरी खेलेका छौं । अबको बाटो निश्चित रुपमा निकै कठिन हुनेछ । हामीले शतप्रतिशत प्रयास गर्नुपर्छ, अब अरुको नतिजाले पनि फरक पार्नेछ,’ उनले थपे । खेलभर साविक विजेतालाई आच्छुआच्छु पारेको टोली हिमालयन शेर्पाका प्रशिक्षक सन्जिव बुढाथोकी भने जित्न नसकेकोमा चुक्चुकाए । ‘मनाङका मुख्य खेलाडी कारबाहीमा परेको स्थितिमा खेल जित्न सकिन्छ भन्ने हामीले बिहानैदेखि सोचेका थियौं । अवसरहरू पनि धेरै नै पाएको हो,’ मनाङलाई दबाबमा राखे पनि गोल गर्न नसक्नुको कारणबारे सोधिएकोप्रश्नमा बुढाथोकीले एकैशब्दमा भने, ‘फिनिसिङ भएन ।’

छैटौं चरणसम्म आउँदा हिमालयन शेर्पा पहिलो जितकै खोजीमा छ । दुई खेल हारेको शेर्पाले ४ बराबरी खेलेको छ । विश्वास श्रेष्ठको चोटपछि टिम स्ट्राइकरको खोजीमा रहेको बुढाथोकीले दोहोर्‍याए । ‘आजको खेलमा अन्य चोटग्रस्त खेलाडीहरू फर्किएका थिए र खेलस्तर पनि बढेको थियो । तर हामीले स्ट्राइकर नै पाउन सकेनौं । दक्षिण एसियाली कोटाबाट एउटा मिडफिल्डर थप्न लागेका छौं । जित्नका लागि स्ट्राइकरलक्षित प्रशिक्षण गराउने छौं,’ उनले थपे ।
दशरथ रंगशालामा मनाङले पहिलो हाफमा दुई अवसर खेर फाल्यो । १२ औं मिनेटमा फेमी जोसुवाको पासमा जीवन गुरुङको प्रहार गोलरक्षक किशोर गिरी बिट भइसकेको अवस्थामा डिफेन्डर नीरज बस्नेतले गोललाइनबाट क्लियर गरिदिए । २३ औं मिनेटमा विमल रानाको हेड क्रसबार माथिबाट बाहिरियो । त्यसको दुई मिनेटपछि विमलको क्रसमा फेमी जोसुवाको प्रहार पनि गोलक्षक किशोरले जोगाएपछि रिबाउन्ड बल फेमीले नै प्रहार गरे । तर खेलको म्यान अफ द म्याच चुनिएका हिमालयनका डिफेन्डर अलरिच सिवेले गोललाइनबाट क्लियर गरिदिए । पहिलो हाफको अन्तिमतिर हिमालयनका सिवेको हेडर मनाङका गोलरक्षक दीप कार्कीले बचाएका थिए ।

दोस्रो हाफमा हिमालयनले बल नियन्त्रणमा राख्यो । ५७ औं मिनेटमा सिवेले पेनाल्टी एरियाबाट गरेको प्रहार उनै गोलरक्षक दीपले रोकिदिए । मनाङका सब्स्टिच्युड मिडाल लुइस चिसानोले बायाँ क्षेत्रबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलरक्षक किशोरले मुस्किलले जोगाउँदा खेल ७१ औं मिनेटमा चलिरहेको थियो । त्यसको अर्को मिनेटमा सुरज विश्वकर्मा रातो कार्ड खाँदै मैदान बाहिरिँदा मनाङ १० खेलाडीमा समेटिन पुग्यो । हिमालयनका स्टेफन समिरले काउन्टर एट्याकमा बल अघि बढाउँदा १८ यार्ड बक्स क्षेत्रमा सुरजले फाउल गरेका थिए ।
त्यसयता धेरैको अनुमान विपरीत मनाङले आक्रामक खेल प्रदर्शन गर्‍यो । ८२ औं मिनेटमा विमलको पासमा अन्जन विष्टले वान भर्सेस वानमा गोल गर्न सकेनन् । अर्को मिनेटमा विमलको गोललाई रेफ्रीले अफसाइड करार गरिदिए । ७ मिनेट थपिएको इन्ज्युरी समयमा विमलले नै वान भर्सेस वानको अवसर उपयोग गर्न सकेनन् । पछिल्लो १० मिनेटमा हिमालयनले पनि गोलमा उत्कृष्ट दुई अवसर पाएको थियो । ८७ औं मिनेटमा त्रिदेव गुरुङको पासमा सुरज हमालले बक्सभित्रबाट हानेको खुला प्रहारलाई गोलरक्षकले रोकिदिए भने उनैले पेनाल्टी एरियाबाट प्रहार गरेको चिप शट पोलछेउ हुँदै बाहिरियो ।

मछिन्द्र शीर्षमा
विशाल राईले पूर्व क्लबविरुद्ध निर्णायक गोल गरेपछि मछिन्द्र क्लब १–० ले खेल जित्दै लिगको शीर्षस्थानमा उक्लिएको छ । जावलाखेल युथले लिगमा पहिलो हार बेहोरेको हो । राष्ट्रिय टोलीका अधिकांश खेलाडीको जमघट रहेको मछिन्द्रमाथि जावलाखेलले चुनौती दिएको थियो । तर सुरुमै गोल खाएपछि टोलीको पुनरागमन प्रयास सफल हुन सकेन ।

खेलको ३१ औं मिनेटमा रेजिन सुब्बाको प्रहार जावलाखेलका दिलेन लोक्तानले पेनाल्टी एरियाबाट हेडमार्फत क्लियर गर्ने प्रयास गरे । फर्किएको बल १८ यार्ड बक्सबाहिर रहेका विशालअगाडि खस्यो । विशालले हानेको सशक्त प्रहार गोलमा परिणत भयो । त्यसको एक मिनेटअघि उनकै फ्रिकिकमा अविषेक रिजालको प्रहार जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाको हातबाट फुत्कँदा क्रसबारमा लागेर खसेको थियो । त्यसलाई सीमान्त थापाले गोललाइनबाट क्लियर गरिदिए ।

खेलमा जावलाखेलले दुई अवसर पाएको हो । २३ औं मिनेटमा सुजित बुढाथोकीको पासमा पेनाल्टी एरियामा अनमार्क हरि कठायतले बल प्रहार गर्न ढिला हुँदा अवसर चुक्यो । ४७ औं मिनेटमा कुवेर विष्टको फ्रिकिकमा फोडे फोफानाको हेडर क्रसबार माथिबाट बाहिरियो ।

‘तीन मुख्य खेलाडी कारबाहीमा परेपछि हामीलाई निकै कठिन भयो । सुरुमा ३–५–२ फर्मेसनमा खेलेका थियौं । पछि ४–३–३ मा खेल्यौं । जावलाखेल पनि लिगमा अहिलेसम्म हारेको थिएन । उनीहरूलाई हराएर ३ अंक ल्याउन सकेकामा हामी छौं, व्यक्तिगत रूपमा म पनि खुसी छु,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने । सेन्ट्रल डिफेन्डर देवेन्द्र तामाङ र विजय धिमाल दुवै कारबाहीमा पर्दा टिमको रक्षापंक्तिमा समस्या आएको उनले स्वीकारे । भने, ‘हामीसँग डिफेन्समा ७ जना छन् । तर एउटै पोजिसनका दुई खेलाडी कारबाहीमा परेर समस्या भएको हो ।’

जावलाखेलका प्रशिक्षक नरेश थापाले दोस्रो हाफमा राम्रो प्रदर्शन गरे पनि फिनिसिङ समस्या नै हारको कारण भएको बताए । ‘मुख्य खेलाडीको अनुपस्थितिमा उनीहरू दबाबमा थिए । त्यसलाई हामीले आफूअनुकुल प्रयोग गर्न सकेनौं । अवसर पाएका हौं । तर हामी फिनिसिङ सफल भएनौं,’ उनले भने ।