रेखाको फिल्ममा दयाहाङ र सौगात

केही समय फिल्म निर्माणमा सुस्ताएकी अभिनेत्री रेखा थापा नयाँ फिल्म निर्माणमा जुटेकी छन् । अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई लिएर उनले नयाँ फिल्म निर्माण गर्न लागेकी हुन् । माघे संक्रान्तिको अवसर पारेर रेखाले  नयाँ फिल्मका लागि टिमअप भएको खुलाएकी हुन् । रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने फिल्ममा सविर श्रेष्ठको निर्देशन रहनेछ ।

बैशाखबाट फ्लोरमा जाने फिल्मको नाम भने जुर्न बाँकी छ । यसअघि रेखाले रेनशा वान्तवा राई निर्देशन लिएर नयाँ फिल्म घोषणा गरेकी थिइन् । तर, रेनशा आफ्नो होम प्रोडक्सनको फिल्म ‘आइ एम ट्वान्टिवान’मा व्यस्त रहेकोले त्यो अगाडि बढ्न सकेन । त्यसैले उनले यो फिल्म निर्माण अगाडि बढाउन लागेकी हुन् ।

केही पहिले ‘मालिका’ फिल्म बनाएकी सौगात र दयाहाङसँग गर्न लागेको फिल्म पनि नारी प्रधान हुने बताइन् । रेखाको फिल्मको  कथा जगदिश्वर थापाले लेखिरहेका छन् । फिल्मको लाइनअप बलियो बनाउन रेखाले सौगात र दयाहाङ लिन लागेका हुन् । कथावस्तुले नै दयाहाङ र सौगात मागेको रेखाको भनाई रहेको छ । यस अगाडि रेखाले दयाहाङसँग फिल्म ‘नीरफूल’मा काम गरेकी छन् । दयाहाङ र सौगातले भने रेखाको फिल्म खेल्ने बिषयमा आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।