चलचित्र ‘के घर के डेरा’ निर्माण घोषणा

चलचित्र ‘के घर के डेरा’ निर्माण घोषणा गरिएको छ । ३५ वर्ष अघि प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’को नाम सापटी लिएर सुव्रतराज आचार्यले निर्देशन गर्ने भएका छन् । सोमवार राजधानीमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रमा दयाहाङ राई, विपिन कार्की र वर्षा राउतको अभिनय रहने छ । डेरामा बस्नेहरुको समस्या र आफ्नै घर बनाउने चाहना यथावत रहे पनि समयअनुसार फरकफरक समस्याहरु लिएर चलचित्र ‘के घर के डेरा’ निर्माण हुन लागेको निर्माण युनिटले बताएको छ ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा दयाहाङ, विपिन र वर्षासँगै लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ । अभिनेताद्वय दयाहाङ र विपिनले चलचित्रको कथा र आफ्नो भूमिका मन परेका कारण काम गर्न लागेको बताए । ‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने सिंगे लामा कार्यकारी निर्मातामा छन् । प्रतीक गुरुङको पटकथा रहेको चलचित्रको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।