च्यासलसँग हार्‍यो मनाङ उपाधि यात्रामा धक्का,जाउलाखेलसँग ब्रिगेड ब्वाइज पराजित

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबको सिजनको सहिद स्मारक ए डिभिजन लिग जित्ने अभियानमा धक्का लागेको छ। सोमबार भएको खेलमा च्यासल युथ क्लबसँग २-० गोलले पराजित भएसँगै मनाङको उपाधि जित्ने लक्ष्यमा धक्का लागेको हो।  जारी सिजनमा मनाङले यो पहिलो हार बेहोरेको हो। मनाङविरुद्ध जित हात पारे पर्ने क्रममा च्यासलका टाइगा नाकामुराले २४ मिनेट र सन्तोष साहुखलले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे।

साहुखलले जारी सिजनमा सर्वाधिक गोलकर्तको शीर्ष स्थानमा रहने क्रममा ७ गोल गरिसकेका छन्। खेलको अन्तिम मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखललाई रेफ्रीले रातो कार्ड देखाए।  हारसँगै मनाङले अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो।  लिगको शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको १० खेलबाट २३ अंक छ। दोस्रो स्थानको मच्छिन्द्रको २२ अंक छ भने मनाङको १९ अंक सहित तेस्रो स्थानमा छ।

सुजित बुढाथोकीको एक मात्र गोलमा जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जाउलाखेलका लागि सुजितले ३२ औं मिनेटमा गोल गरेका थिए ।जीतपछि १० खेलबाट १५ अंक जोड्दै जाउलाखेल सातौं स्थानमा उक्लेको छ । संकटा र एनआरटीसंग अंक बराबरी गरे पनि जाउलाखेल गोल अन्तरमा पछि छ । संकटाले १० खेल खेलेको छ भने एनआरटीले एक खेल कम खेलेको छ । उता १० खेलबाट ८ अंक मात्र रहेको ब्रिगेड ११ औं स्थानमा छ । जाउलाखेलसंग हारपछि ब्रिगेडलाई रेलिगेसनको दबाब बढेको छ । ब्रिगेड भन्दा पछि हिमालयन शेर्पा क्लबले ७ अंक, एपीएफको ५ अंक र पुछारमा रहेको सरस्वतीको ४ अंक छ । यी चारवटै टोलीले अब समान ३ खेल खेल्न बाँकी छ । यो वर्ष लिगमा एउटा टिममात्र रेलिगसन पर्नेछ ।