सरस्वतीमाथि मनाङको कठिन जित,साहुखलको निर्णायक गोलमा च्यासल विजयी

सरस्वती युवा क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा मनाङले सरस्वतीलाई १–० ले पराजित गरेको हो मनाङका लागि खेलको ४६ औं मिनेटमा विमल रानाले गोल गरे । जितपछि मनाङको ८ खेलबाट १६ अंक पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मीको पनि १६ अंक छ । समान ८ खेल खेलेको मछिन्द्र क्लबको पनि १६ अंक छ । जितपछि पनि मनाङभन्दा अघि शीर्ष स्थानमा आर्मी र दोस्रो स्थानमा मछिन्द्र क्लब छ । खेलेका ८ खेलमध्ये ७ वटामा हार र एउटामा बराबरी खेलेको सरस्वती भने  एक अंकमा सीमित  तालिकाको अन्तिममा छ । सरस्वतीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई हराएको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोलले हरायो । च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे । सन्तोषले इन्जुरी समयमा गोलगर्दै च्यासललाई महत्वपूर्ण तीन अंक दिलाए । डिबक्सभित्र ब्रिगेडका रक्षकको कमजोरीमा सन्तोषले उत्कृष्ट गोल गरेका थिए ।

च्यासलले दोस्रो हाफका थप गोलको अवसर गुमाएको थियो । पहिलो हाफका औसत प्रदर्शन गरेको ब्रिगेड दोस्रो हाफका कमजोर देखियो । च्यासलका जापानी खेलाडी नाकामुरा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै च्यासल आठौं स्थानमा उक्लिएको छ । च्यासलले आठ खेलबाट नौ अंक बनाएको छ । समान खेलबाट आठ अंक बनाएको ब्रिगेड १० औं स्थानमा छ ।