बराबरीमा रोकियो आर्मी,माटिन्सको निर्णायक गोलमा संकटा विजयी,उपाधि होड रोमाञ्चक

काठमाडौं । न्यूरोड टिम (एनआरटी)ले शहीद स्मारक ए डिभिजन लिगमा लिग लिडर त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको छ। शनिबार भएको खेलमा एनआरटीले आर्मीलाई गोलरहित बराबरीमा रोकिएको हो । यससँगै  लिगको उपाधि होड रोमाञ्चक बनेको छ । शनिबार न्यूरोड टिमविरुद्ध मैदान उत्रिँदा आर्मीसामू तीन अंकको अग्रता लिने मौका थियो । तर आर्मीले गोल नै गर्न सकेन ।

दशरथ रंगशालामा भएको खेलका आर्मीले गोलका आधा दर्जन अवसर पाएपनि सदुपयोग गर्न सकेन । इन्जुरी टाइममा एनआरटीका जुनियर निकुनगुए रातो कार्ड पाएका थिए । एनआरटीका गोलकिपर अजित प्रजापतिको उत्कृष्ट प्रदर्शन गर्दा आर्मीको फिनिसिङ कमजोर देखियो । आर्मीमा कप्तान भरत खवाससहित नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, दिनेश हेन्जन जस्ता फरवार्ड भएपनि गोल गर्न सकेन ।

विदेशी खेलाडी अजयी मार्टिनले गरेको गोलमा संकटा क्लबले सहिद स्मारक लिगमा फ्रेण्ड्स क्लबलाई हराएको छ । शनिबार भएको आठौं चरणको अन्तिम खेलमा संकटाले फ्रेण्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । संकटाको जितमा एकमात्र गोल विदेशी खेलाडी मार्टिनले ६४औं मिनेटमा गरे । जितपछि साविक उपविजेता संकटाले ८ खेलबाट १२ अंक जोडेको छ । संकटा छैटौं स्थानमा उक्लिएको छ ।फ्रेण्ड्स भने ८ खेलबाट ८ अंकसहित ११औं स्थानमा छ ।

उपाधि होड रोमाञ्चक

लिमा अब पाँच चरणको खेल बाँकी छ । आठौं चरणमा उपाधि दाबेदारहरु मनाङ मर्स्याङ्दी क्लब मछिन्द्र क्लब र थ्री स्टार क्लबले जित हात पार्दा त्रिभुवन आर्मी भने बराबरीमा रोकियो । यसले उपाधि होडलाई खुल्ला बनाएको छ । सातौं चरणमा आर्मीले मछिन्द्र र मनाङमाथि ३ अंकको स्पष्ट अग्रता बनाएको थियो, तर आठौं चरण सकिँदा आर्मीको अग्रता १ अंकमा झरेको छ ।आर्मीसंगै मनाङ र मछिन्द्र र थ्री स्टार उपाधिको दाबेदारमा अगडि छन् । आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा मछिन्द्र दोस्रो र मनाङ तेस्रोमा छ । दुवैको समान १६ अंक छ तर गोल अन्तरमा मछिन्द्र अघि छ । यस्तै ८ खेलबाट १४ अंकसहित थ्री स्टार चौथोमा छ ।

त्यसपछि तीन टिमको समान १२ अंक छ ।तर गोलअन्तरमा एनआरटी अगाडि रहँदै पाँचौ, संकटा छैटौं र जावलाखेल सातौंमा छ । नेपाल पुलिस ११ अंकसहित आठौं स्थानमा छ । अंकतालिकामा शीर्ष चार टिमबीच जम्मा ३ अंकको फरक छ भने शीर्ष सात टिमबीच ६ अंकको । यसले पनि उपाधि होडलाई अझ रोचक बनाएको छ । कुनै पनि टिमले कुनै पनि टिमको नतिजालाई फेरबदल पार्नसक्छ । उपाधि होड रोमाञ्चक बन्दा सरस्वती युथ क्लब रेलिगेसन जोनमा छ ।८ खेलबाट जम्मा १ अकसहित सरस्वती अंक तालिकामा पूछारमा छ । सरस्वतीभन्दा ४ अंक बढी रहेको विभागीय टोली एपीएफ १३औं स्थानमा छ ।