कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्छु:आस्था राउत

प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् । राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसलाई लिएर उनले फेसबुक लाइभमा प्रहरी संगठनलाई गालीगलौज गरेपछि उनको चर्को आलोचना भयो । उनले सामाजिक सञ्जालबाटै माफी समेत मागेकी थिइन् । र प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाउने भन्दै जिल्ला प्रशासनबाट पक्राउ अनुमति लियो ।

त्यसपछि नागरिकसँग बदला लिन खोजेको भन्दै आलोचना भएपछि प्रहरीले परिवारले उपस्थित गराए पक्राउ नगर्न सकिने अभिव्यक्ति दियो । त्यसअनुसार सिक्किमबाट फर्किएपछि राउत आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भइन् । प्रहरीले उनीसँग सोधपुछ गरेको छ ।गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे ।उनले  भने-, ‘जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको छ । अब अन्य कानूनी प्रक्रिया सुरु हुन्छ ।’

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो । राउत सोमबार बिहान मात्रै प्रहरीसमक्ष उपस्थित थिइन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राउतले ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको बताइन् । उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ यो घटनाले आफूलाई संयमित हुनुपर्छ भन्ने पाठ सिकाएको समेत उनले बताइन् । प्रहरीले आफूलाई सौहादपूर्ण वातावरणमा आफ्नो कुरा राख्न दिएको समेत गायिका राउतले बताएकी छन् ।