थ्रीस्टारलाई पराजित मछिन्द्र शीर्ष स्थानमा,पुलिससँग एपीएफ पराजित

थ्रीस्टार क्लबलाई २-० ले पराजित गर्दै मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । मछिन्द्रको जीतमा रेजिन सुब्बा र विशाल राई बीले गोल गरे । पहिलो हाफमा मछिन्द्रले दुई राम्रो अवसर पाएको थियो । जसमा एउटा गोल भयो । खेलको ३७ औं मिनेटमा रेजिन सुब्बाले सुजल श्रेष्ठको पासमा पेनाल्टी बक्स भित्रबाट गोल गर्दै अग्रता दिलाए । रेजिन २८ औं मिनेटमा दीपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए । तीन मिनेटपछि रेजिनले अग्रता दोब्बर पार्ने अवसर पाए पनि थ्रीस्टारका विक्रम लामा बाधक बने । विशाल राई बीको फ्रिकिकमा रेजिनले पेनाल्टी बक्सबाट गोलकिपर बिट भइसकेको अवस्थामा गरेको हेडर विक्रमले गोललाइनबाट बचाए ।

दोस्रो हाफमा थ्री स्टारले दबाब बनाए पनि गोल गर्न सकेन । मछिन्द्रले एक गोल थप्यो । ९० औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रको जीत पक्का गरे । थ्री स्टारको डिफेन्स र गोलकिपरले क्लियर गर्न नसकेको बल विशालले गोल गरे । जीतपछि ९ खेलबाट १९ अंक जोड्दै मछिन्द्र शीर्ष स्थानमा उक्लेको छ । मछिन्द्रले एक खेल कम खेलेको आर्मीलाई २ अंकले पछि पारेको हो । थ्रीस्टारको ९ खेलबाट १४ अंक छ । गोल अन्तरमा नेपाल पुलिससंग पछि पर्दै पाँचौंमा झरेको छ ।

भोला सिलवालको एक मात्र गोलको मद्दतमा नेपाल पुलिसले शहीद स्मारक ए डिभिजन लिगमा एपीएफलाई पराजित गरेको छ । सोमबार भएका खेलमा पुलिसले एपीएफलाई १-० ले पराजित गरेको हो । १३औं मिनेटमा भोला सिलवालले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । एपीएफका राजन गुरुङले भरत शाहलाई पेनाल्टी एरियामा फाउल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो ।

खेलमा एपीएफले पनि गोलको अवसर बनाएको थियो तर गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । इन्जुरी टाइममा एपीएफका राजीव लोप्चनको प्रहार पुलिसका गोलकिपर रोसन खड्काले बचाएका थिए । खेलपछि रेफ्रिसँग विवाद गरेका एपीएफका सुदीप सिख्राकारले रातो कार्ड पाएका थिए । जितपछि ९ खेलबाट १४ अंक जोड्दै पुलिस अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ ।

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले आज फरक रणनीतिमा खेल्दै सुरुमै गोल गरेकोले जित हात पार्न सफल भएको बताए । एक गोलको अग्रता लिदा दोस्रो हाफमा दबाबमा परेकोले डिफेन्सिभ खेलेको थापाले बताए । यस्तै एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले पुलिसविद्ध एपीएफले राम्रो खेलेको बताए । तर सुरुमै गोल खाएकोले पराजित भएको बताए । रेफ्रीले ५०-५० को निर्णय गर्नुपर्ने भन्दै दोस्रो हाफमा पेनाल्टी पाउनुपर्ने भए पनि नपाएकोमा उनले असन्तुष्टि राखे । हारपछि अब एपीएफको लक्ष्य माथि जाने भन्दा रेलिगेसन जोगाउनेतर्फ रहेको बताए ।