दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘२ नम्बरी’ बन्ने

दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘२ नम्बरी’ बन्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच फिल्म घोषणा गरिएको हो । लेखन समेत निर्देशक लामाको रहेको फिल्ममा दयाहाङ राई, पल शाह, बर्षा राउत, बुद्धि तामाङ लगायतको मुख्य भूमिकामा रहने कार्यक्रममा जानकारी दिइयो । दयाहाङ, वर्षा र पलको सहभागीता समेत रहेको कार्यक्रममा निर्देशक लामाले एकै ठाउँमा दुई साथीको मित्रता र दुश्मनीको कथामा फिल्म ‘२ नम्बरी’ बन्न लागेको बताए । उनले फिल्ममा समाजमा अपराधको रुपमा रहेको २ नम्बरी काम पनि कथामा समेटिएको सुनाए ।

कार्यक्रममा फिल्मको कथा मनपरेको पल शाहले बताउँदा अभिनेत्री वर्षा राउतले भने फिल्म हेर्दा दर्शकले आफ्नो भूमिका राम्रो पाउने धारणा राखिन् । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको निर्माता रोहित कट्टेल र सरोज नेपाली रहेका छन् । अमलादेवी राई फिल्मको सह–निर्माता हुन् । २५ माघबाट छायाँकनमा जाने बताइएको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । फिल्म जनैपूर्णिमामा रिलिज हुने कार्यक्रममा जानकारी दिइयो ।