आस्था राउत धरौटीमा रिहा, भन्छिन् – आफ्नो पत्रकारिताको इथिक्स नबिर्सिदिनुहोला ।

गायिका आस्था राउतलाई धरौटीमा छाड्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृृष्णबहादुर कटवालले धरौटीमा छाड्ने आदेश भएको  बताए । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग मागेको थियो । तर, सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय मात्र दिएको थियो । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गर्‍यो । राउतले गएराति हिरासतमा भने बस्नु परेन । उनलाई ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो । ‘हाइपर टेन्सन’का कारण समस्या भएको भन्दै उनलाई प्रहरीले अस्पताल लगेको थियो ।

अभद्र व्यवहारको मुद्दामा धरौटीमा रिहा भएपछि गायिका आस्था राउतले प्रहरीको प्रशंसा गरेकी छन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन् । हँसिलो अनुहारमा आफ्नो बुवासँग बाहिर निस्केकी आस्थाले उपस्थित सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिएकी थिइन् । उनले यसअघि प्रहरीप्रतिको आफ्नो गलत बुझाइ दुई दिनमा फेरिएको समेत बताइन् । ‘मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ । प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भयो । गल्ति मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन,’ आस्थाले भनिन् । उनले यो घटना सबैका लागि पाठ भएको समेत बताइन् ।  आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ । उनले प्रहरीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएकी छन् ।

गायिका आस्था राउत मिडियाविरुद्ध खनिएकी छिन् । मङ्गलबार धरौटीमा रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउत उल्टै मिडियाविरुद्ध खनिएकी हुन् ।सोमबार बिहान काठमाडौँ परिसर टेकुमा आफै पुगेर आत्मसमपर्ण गरेको समाचारको विषयमा मिडियाहरुले शीर्षक बङ्ग्याएर जथाभावी समाचार बनाएको अरोप समेत राउतले लगाएकी छन् ।

आफ्नो गिरफ्तारीबाट प्रहरी सङ्गठन र आफू दुवैलाई राम्रो नभएको चर्चा गरेकी राउतले आफ्नो गिरफ्तारीलाई व्यवसायीक रुपमा नहेरिदिन आग्रह गरिन् ।आक्रोशित मुद्रामा प्रस्तुत भएकी राउतले सञ्चारकर्मीलाई लक्षित गर्दै थपिन्, ‘द्याट्स नो द वे’ तपाईहरुको पनि एउटा इथिक्स हुन्छ । जे हो सत्य बोलिदिनु । म सत्यमा हिँडिरहेको छु भने तपाई मिडियाकर्मीहरु झन सत्यमा हिँड्नुपर्छ ।’ ‘सोझासाझा मान्छेहरुले १०० प्रतिशत तपाईंहरुलाई आँखा चिम्लिएर विश्वास गर्छन् । तपाईहरुले त्यसको कदर गरिदिनुस्,’ उनले अगाडि भनिन्, ‘तपाई मिडियाहरुले एकदमै ध्यान दिनु जरुरी छ ।’

अनावश्यक शीषर्क राखेर समाचार लेख्ने मिडियाहरुलाई कारबाही हुनुपर्ने उनको माग थियो । उनले पत्रकारलाई सिकाइन्, ‘शीर्षक बङ्ग्याएर लेख्नेहरुलाई ढिलोचाँडो कारबाही हुन्छ नै । आफ्नो पत्रकारिताको इथिक्स नबिर्सिदिनुहोला ।’ आफू सर्वप्रथम सर्वसाधारण र त्यसपछि गायिका रहेको बताएकी राउतले गल्ती गरेको कारण सार्वजनिक रुपमै माफी मागेको समेत बताइन् । यसलाई ध्यान दिएर समाचार सम्प्रेषण गर्न उनले सुझाइन् ।  ‘आफूले आक्रोशमा भिडियोमार्फत बोलेको शब्दले प्रहरी सङ्गठनप्रति नराम्रो छाप परेपनि आफूलाई प्रहरी संगठनले धेरै सहयोग गरेको छ,’ उनले भनिन्, ‘म गलत रहेछु । प्रहरी हाम्रो साथी ‘स्लोगन’ मात्र होइन खासमा साथी नै रहेछ ।’ राउतले कानुनभन्दा माथि कोही नरहेको पनि बताइन् । उनले भनेकी छन्, ‘कलाकार, प्रशासन पत्रकार जो कोही पनि कानुनभन्दा माथि छैन् ।’