आर्मी शीर्ष स्थानमा फर्कियो,सरस्वतीले हिमालयन शेर्पालाई हरायो

कप्तान भरत खवासको निर्णायक गोलमा जाउलाखेल युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । नवौं चरणको पहिलो खेलमा उपाधि दाबेदारबीचको भिडन्तमा मछिन्द्रले थ्रीस्टारलाई हराउदै शीर्ष स्थानमा उक्लेको थियो । तर मंगलबार आर्मीले जाउलाखेललाई १-० ले पराजित गर्दै पुरानै स्थानमा फर्किएर उपाधि होड बलियो बनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भरत खवासले ७४ औं मिनेटमा गोल गरे । सन्तोष तामाङको लामो क्रसमा पेनाल्टी बक्सबाट भरतले उत्कृष्ट गोल गरेका थिए । यस सिजन छैटौं जीत हात पारेको आर्मीले ९ खेलबाट २० अंक जोडेर मछिन्द्रलाई १ अंकले पछि पारेको छ । आर्मीले ९ मध्ये ६ खेल जित्दा २ खेल बराबरी खेलेको थियो । आर्मी यस सिजन मनाङ मर्स्याङ्दीसंग मात्र पराजित भएको  छ । समान खेलबाट १९ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ । ९ खेलबाट १२ अंक रहेको जाउलाखेल गोल अन्तरमा संकटा क्लबसंग पछि पर्दै आठौंमा झरेको छ ।

लगातार ८ खेलको जितबिहीन यात्रा अन्त्य गर्दै सरस्वती युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबमाथि ४-३ की जित हात पारेको हो । यसअघि ८ खेलमा सरस्वतीले १ बराबरी खेलबाट १ अंक मात्र जोडेको थियो । एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीलाई जित दिलाउन विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे भने विनोद केसी र मनिष थापाले एक-एक गोल गरे ।

शेर्पाका लागि आशिष गुरुङ, विजय शेष्ठ र रवि थापा मगरले गोल गरे । पहिलो जितपछि सरस्वतीले ९ खेलबाट ४ अंक जोडेको छ । पुछारमा रहेको सरस्वतीको जितले एपीएफ र हिमालयन शेर्पालाई समेत रेलिगेसन जोगाउन दबाब बढेको छ । शेर्पाको ९ खेलबाट ७ र समान खेलबाट एपीएफको ५ अंक छ । उपाधि होडजस्तै अब रेलिगेसनमा कुन टिम पर्ला भनेर समेत रोमाञ्चकता हुने भएको छ । १४ टिमले प्रतिस्पर्धा गरिरहेको लिगमा यसपटक एक टिम मात्र रेलिगेसनमा पर्नेछ ।