आर्मीको फराकिलो जित,मार्टिनको गोलमा संकटा विजयी

शहीद स्मारक ए डिभिजन लिगको डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मीले उपाधि होड कायमै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नवयुग श्रेष्ठले दुई गोल गर्दा आर्मीले दुई पटक पछाडि परेर पनि पुनरागमन मात्र गरेन, महत्वपूर्ण तीन अंक जोड्यो । यससँगै आर्मीले उपाधि होडलाई आफ्नै हातमा राखेको छ ।खेलमा आर्मी ७६ मिनेटसम्म २-१ ले पछि परेको थियो । तर अन्तिम १३ मिनेटमा ३ गोल पर्कायो ४-२ ले खेल जित्यो । त्यसमा पनि नवयुगको गोल टर्निङ प्वाइन्ट बन्यो । आर्मीका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘हामी २-१ ले पछि परेको बेला सब्सिच्युट प्लेअरको क्रसमा नवयुगले गरेको गोल नै टर्निङ प्वाइन्ट भयो ।

नवयुगले विकेक श्रेष्ठको पासमा गोल गरेका थिए । त्यसपछि खेलमा हावी भएको आर्मीले २ गोल थप्यो । खेलको ८५औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले पहिलो पटक अग्रता बनायो भने ८९औं मिनेटमा अर्का सब्चिच्युट खेलाडी सुदिल राईले गोल गर्दै आर्मीलाई ४–२ को महत्वपूर्ण जित दिलाए । सबै खेलाडीले कडा मेहनत गरेर खेलेकाले जित सम्भव भएको प्रशिक्षक न्यौपानेले बताए । ‘पहिलो हाफमा हामीले अवसर पाएका थियौं, तर स्कोर हुनुपर्ने बलमा भइरहेको थिएन’ उनले भने, ‘दुई गोल सेट पिसमा व्यहोर्‍यौं । टाइट मार्क गर्ने योजना बनाएपनि डिफेन्डरहरुमा मिसकम्युनिकेसन हुँदा गोल खायौं ।’

खेलको १९औं मिनेटमा पुलिसले बुद्ध बल तामाङको गोलबाट अग्रता लिएको थियो । ३४ औं मिनेटमा सुमन अर्यालले आर्मीका लागि बराबरी गोल गरे । लिगमा उनको यो पहिलो गोल हो । तर ५८औं मिनेटमा मानबहादुर परियारले पुलिसलाई फेरि अग्रता दिलाए । पुलिसको दुवै गोलमा कप्तान नरकुमार राईले असिस्ट गरेका थिए । तर त्यो अग्रता कायम राख्न सकेन । पुलिसका प्रशिक्षक अनन्त थापा भन्छन्, ‘३ अंकका लागि हामीले अट्याकिङ फुटबल खेलेका थियौं । समयमा गोल पनि भएको थियो, तर आफ्नै गल्तीले दोस्रो गोल भयो ।’

यद्यपि आफ्नो टिमले आइतबार राम्रो खेलेको उनको दाबी छ । ‘आर्मीले स्पिड खेल्छ भन्ने थाहा भएर हामीले काउन्टर अट्याकमा खेल्ने रणनीति बनाएका थियौं’ उनले भने, ‘आर्मीको स्पिड राम्रो छ । त्यसलाई रोक्न सक्नु राम्रो हो ।’ यस्तै खेललाई निरन्तरता दिन सके पुलिसले शीर्ष ६ मा लिग सकाउन सक्ने उनको दाबी छ । डिफेन्समा भने म्याचुएर्ड प्लेअर नभएकाले टिम समस्यामारहेको उनले स्वीकारे । ‘५ जना डिफेन्स खेलाउनुपर्ने अवस्था आएको छ । म्याचुएर्ड प्लेअर नहुँदा यो समस्या भएको हो’ पुलिसका प्रशिक्षक अनन्तले भने ।

पुलिसलाई हराएपछि आर्मी १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट २२ अंकसहित मछिन्द्र क्लब दोस्रोमा छ भने तेस्रो स्थानमा रहेको साविकको विजेता मनाङ मस्र्याङ्ीको १९ अंक छ र उसले एक खेल कम खेलेको छ । पुलिसविरुद्ध जितपछि आर्मीको एउटै लक्ष्य छ, उपाधि । त्यसका लागि बाँकी सबै खेल जित्नुपर्ने प्रशिक्षक न्यौपानेले पनि बुझेका छन् । ‘आठौं चरण सकिएपछि मैले अब ५ स्टेप बाँकी छ भनेको थिएँ । दुई स्टेप पूरा भयो, अब ३ स्टेप बाँकी छ’ नवीन न्यौपानेले भने, ‘त्यसलाई पार गर्दै उपाधि जित्ने लक्ष्य छ ।’

हिमालयन शेर्पालाई हराउँदै संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको छैटौं स्थानमा उक्लेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा संकटाले शेर्पालाई १-० ले पराजित गरेको हो । संकटाको लागि विदेशी खेलाडी अजयी मार्टिन्सले क्षितिज जिसीको पासमा २१ औं मिनेटमा गोल गरे । जितपछि १० खेलबाट १५ अंक जोड्दै संकटा छैटौं स्थानमा उक्लिएको छ । पराजित भएपछि हिमालयन शेर्पालाई भने रेलिगेसनको दबाब बढेको छ । शेर्पाको १० खेलबाट ७ अंक मात्र छ र १२ औं स्थानमा छ ।