मछिन्द्र र त्रिभुवन आर्मीको जीत

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मछिन्द्रले सरस्वतीविरुद्ध पहिलो हाफमा एक गोलको मात्र अग्रता लिए पनि दोस्रो हाफमा पाँच गोल गरेको हो । मछिन्द्रको फराकिलो जीतमा दीपक राईले दुई गोल गरे भने यस्तै देवेन्द्र तामाङ, विशाल राई ए, एडिलाजा सोमिडे र आन्द्रेस नियाले एक-एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए ।

खेलको ४० औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा भने गोल वर्षा गर्‍यो । खेलको ५४ औं मिनेटमा दीपक राईले व्यक्तिगत पहिलो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । ५९ औं मिनेटमा विशाल राईले मछिन्द्रका लागि तेस्रो गोल गरे । ७७ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता ४-० बनाए । ८७ औं मिनेटमा सरस्वतीका काजिमले पेनाल्टीमा गोल फर्काउँदै खेललाई ४-१ मा ल्याए ।

तर इन्जुरी समयमा मछिन्द्रले दुई गोल थप्दै जित अन्तर फराकिलो बनायो । मछिन्द्रका लागि सोमिडेले गोल इन्जुरी टाइमको चौथो र आन्द्रेस नियाले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरे । यस सिजन लिगमा यो सबैभन्दा फरकिलो अन्तरको जित हो । यसअघि सरस्वतीविरुद्ध नै एनआरटी र थ्रीस्टार समान ४-० को अन्तरले विजयी भएका थिए । दुई गोल गरेका मछिन्द्रका दीपक राई खेलको म्यान अफ दि म्याच चुनिए ।जीतपछि ११ खेलबाट २५ अंक जोड्दै मछिन्द्रले उपाधि होड बलियो बनाएको छ । उता सरस्वती भने रेलिगेसनतिर धकेलिएको छ । ११ खेलमा ४ अंक मात्र जोडेको सरस्वती भने अंकतालिकामा पुछारमै छ ।

सन्तोष तामाङको दुई गोल मद्दतमा त्रिभुवन आर्मी एपीएफलाई पराजित गर्द शहीद स्माकर ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । विभागीय डर्बीमा बिहीबार एपीएफलाई २-१ ले पारजित गर्दै आर्मी केही घण्टा पछि नै शीर्ष स्थानमा फर्किएको हो । बिहीबारै मछिन्द्र सरस्वतीलाई ६-१ ले पारजित गर्दै केही समयको लागि शीर्ष स्थानमा उक्लिएको थियो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि सन्तोष तामाङले दुवै हाफमा एक-एक गोल गरे । एपीएफका लागि आशिष लामाले एक गोल फर्काए । जीतपछि ११ खेलबाट २६ अंङ्क जोडेको आर्मी मछिन्द्रलाई १ अंकले पछि पार्दै शीर्ष स्थानको उक्लेको हो । समान खेलबाट २५ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ । लिगमा अब दुवै टोलीको समान २ खेल बाँकी छ । अन्तिम चरणमा आर्मी र मछिन्द्र नै खेल्नेछन् ।